साझा कथा । काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले निर्वाचित भएकै दिन काठमाडौंमा मेट्रोरेल र मोनोरेल चलाउने दाबी गरेका थिए । तर उनको कार्यकालमा न त सो सम्बन्धमा अध्ययन अनुसन्धान भयो, न त प्रगतिको सिन्का भाँचियो । काठमाडौं महानगरको बागडोर सम्हाल्न आइपुगेका बालेन शाहले निर्वाचित भएलगत्तै मोनोरेल सम्भव नभएपनि मेट्रोरेल चलाउन सकिने र त्यसको लागि आफूले पहल गर्ने बताए । निर्वाचित भएको ९ महिनासम्म काठमाडौंका मेयरले मेट्रोरेलका विषयमा ठोस प्रगति गर्न नसकेपछि ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन उनलाई झक्झक्याउन पुगेका छन् ।
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रोरेल निर्विकल्प भएको बताउँदै काठमाडौँ महानगरलाई यसको नेतृत्व लिन अनुरोध गरेका छन् । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई भेट्न काठमाडौँ महानगर कार्यालय पुगेका महर्जनले सङ्घीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ महानगरले मेट्रोरेलका लागि लिने नेतृत्वको ललितपुर महानगर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘उपत्यका दुई महानगरबिच समन्वय र सहकार्य भए ठुला योजना सम्पन्न गर्न सक्छौँ, ललितपुर काठमाडौँको सहयात्री बन्छ, काठमाडौँ महानगरले यसको नेतृत्व गर्नुपर्छ ।’
मेट्रो रेलको विकल्प खोज्नु अब समय र स्रोतसाधनको दुरुपयोग मात्र ठहरिने महानगर प्रमुख महर्जनले प्रस्ट पारेका छन् । उनले भने, ‘धेरै खर्च लाग्छ, धेरै समय लाग्छ भनेर मेट्रोरेलका बारेमा निर्णय नगर्नु किमार्थ ठिक हुँदैन । काठमाडौँ उपत्यकालाई बस्न योग्य सहर बनाउनका लागि मेट्रोरेल नल्याई सुखै छैन ।’ उनले मेट्रोरेलका बारेमा निर्णय गर्न अब ढिला गर्न नहुने बताउँदै बेलैमा निर्णय नगरे उपत्यका बस्न अयोग्य सहर बन्ने दाबी महर्जनले बताए । उनले भने, ‘नत्र सन्ततिले हामीलाई धिक्कार्छन् ।’
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले मेट्रोरेल उपत्यकाका लागि अत्यावश्यक भएको बताउँदै अन्य नगरपालिकासँग मेट्रोरेलका सन्दर्भमा अब योजनाबद्ध रूपमा छलफल सुरु गर्ने बताएका छन् । उनले भने, ‘अब मेट्रोरेलका बारेमा अन्य नगरपालिका र सरोकारवाला निकायसँगको छलफल सुरु गरौं ।’ काठमाडौँ महानगरले पनि मेट्रोरेलका बारेमा अनौपचारिक रूपमा सोधखोज गरिरहेको भन्दै उनले भने, ‘योजना बनाउँदा कम्तीमा ५० वर्षको योजना बनाउनुपर्छ, राम्रो त एक सय वर्षलाई सोचेर बनाउनु राम्रो हो, दुई चार वर्षे योजनाले दीर्घकालीन प्रभाव पार्दैन र नागरिकलाई खुसी र सुख दिन सक्दैन ।’
उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न तत्काल काम सुरु नगर्ने हो भने अबको पाँच वर्षपछि ट्राफिक जामले निम्त्याउने समस्या विकराल हुने सरोकारवालाले बताएका छन् । ट्राफिक व्यवस्थापनका दृष्टिले अबको पाँच दश बर्षपछि उपत्यका ‘गतिहीन’ सहरमा परिणत हुने कुरा निश्चित छ । विगत २० वर्षदेखि मेट्रोेरेलको आवश्यकता र यसले उपत्यकावासीलाई कसरी समृद्ध बनाउँछ भन्ने सन्दर्भमा छलफल हुँदै आइरहेपनि यस विषयमा ठोस प्रगति हुन सकेको छैन ।