साझा कथा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । धादिङबेसीमा भएको प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनबाट थापामगर सर्वसम्मत अध्यक्ष चुनिएकी हुन् । लोक दोहोरी क्षेत्रमा डेढ दशकदेखि सक्रिय थापामगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् ।
महाधिवेशनले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँड चुनेको छ । सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दिपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल सर्वसम्मत भएका हुन् ।
सात जनाको खुल्ला उपाध्यक्षमा १० जनाको उम्मेदवारी परेको छ । पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला बिसी, शंकर बिसी र तारापती सुवेदीको उम्मेदवारी परेको छ ।
प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत भएका छन् । त्यसैगरी उपमहासचिवमा हरि डाँगी (प्रशासनिक) र शिरीष देवकोटा (सांगठनिक), कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत निर्वाचित भएको जानकारी दिइएको छ । महिला सचिवमा जमुना राना सबैको रोजाईमा परेकी छन् ।
सातवटा प्रदेशमध्ये भूगोल सचिवमा गण्डकी प्रदेश बाहेक सबै प्रदेशमा सर्वसम्मत भएको छ । गण्डकी प्रदेशमा तीन जनाको उम्मेदवारी परेको छ । तीन जनाको खुल्ला सचिव पदमा पनि पाँच जना र दुई जनाको सहकोषाध्यक्ष (खुल्ला) पदमा तीन जनाको उम्मेदवारी परेको छ ।