“राष्ट्रपति सर्वसम्मत बनाउने प्रयास भइरहेको छ, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद बनाइँदै छ”

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भावी राष्ट्रपतिलाई सर्वसम्मत बनाउन प्रयत्न भइरहेको बताएका छन् । १० वर्षे जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २८ औँ स्मृति दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले फागुन २५ गतेसम्ममा सहमतिमै राष्ट्रपति चयन हुने सम्भावना पनि रहेको दाबी गरे ।

उनले भने, ‘नेकपा एमालेसँग पनि निरन्तर कुरा भइरहेको छ, राष्ट्रपति सर्वसम्मत बनाउने कोसिस फागुन २५ गतेसम्मै जारी राख्छौँ, त्यसो भएन भने पनि देश नयाँ ढङ्गले अघि बढ्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएका सबैलाई राष्ट्रिय शहिद घोषणा गरिने बताए । ‘आज बिहान मात्रै मुख्य सचिवलाई बोलाएर जनयुद्ध जनआन्दोलनका सबै शहिदहरुलाई राजपत्रमा सूचना प्रकाशन गर्न लगाएर राष्ट्रिय शहिद घोषणा गर्न निर्देशन दिएको छु’ उनले भने, ‘तेस्रो पटक प्रधानमन्त्री भएपछि ६४ सालमा मैलेनै तयार गर्न लगाएको त्यो पुरानो माइन्युट खोजेको छु, सबै शहिदहरुलाई राष्ट्रिय शहिदको रुपमा राजपत्रमा नाम प्रकाशित गर्ने प्रक्रिया अघि बढ्छ ।’

यस्तै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग विधेयक संशोधन गरेर सदनमा प्रस्तुत गर्न लागिएको पनि प्रधानमन्त्रीले जानकारी दिए । ‘प्रधानमन्त्रीको रूपमा यो तेस्रो कार्यकालमा जनयुद्ध र जनआन्दोलनका घाइते तथा बेपत्ता परिवारलाई धेरै हदसम्म मलमपट्टी लगाइने छ र त्यो व्यक्तिगतरूपमा मेरा लागि पनि खुसी र हर्षको कुरा हुनेछ’, उनले भने, ‘घाइते, अपाङ्गको निम्ति पनि नयाँ विधेयकमा व्यवस्था छ । माओवादी, अन्य राजनीतिक दल, सेना, प्रहरीलगायत युद्ध र आन्दोलनमा क्षति भोगेकाहरूलाई क्षतिपूर्तिसहितको परिपूरणको व्यवस्था गर्ने, उनीहरूको सम्मानमा ठाउँठाउँमा पार्क बनाउने, उनीहरूको परिवारलाई रोजगारी दिने, छोराछोरीलाई शिक्षा–दीक्षा दिने काम मेरै नेतृत्वमा हुँदैछ ।’

कार्यक्रममा जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलका बुबा सेते रम्तेल र आमा सरीमाया रम्तेलसहित बारपाकभित्रका शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?