सुरु भयो होली – हनुमानढोकामा चीर ठड्याइयो, मिथिलामा नाचगान

साझा कथा । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने गरिन्छ ।

आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन् । आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली शुरु भएको जनाउ दिने गरिन्छ ।

चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा ठड्याइएको जानकारी दिए । चीर ठड्याइसकेपछि विधिवत रुपमा होलदी पर्व शुरु भएको मानिने मानन्धरको भनाई छ ।

उनले भने, ‘चीरको महत्व परापूर्वकालदेखि नै छ । असत्यमाथि सत्यको जितको रुपमा मनाउने गरिन्छ । यो ठड्याइसकेपछि विधिवत रुपमा होली शुरु हुन्छ । यो चीर मानन्धर समुदायले ठड्याउँदै आउनुभएको परम्परा हो ।’

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

उता मिथिलाञ्चलमा पनि आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइ होली पर्व थालिएको हो ।

परिक्रमामा सहभागी हजारौँ साधुसन्त, महात्मा र स्थानीयवासीले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको सुरुआत गरेका थिए । यो सँगै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि आज रङ अबीरको प्रयोग सुरु भएको छ ।

यसरी होलीको आगमनसँगै प्रत्येक वर्षझै यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यग्ङ्गात्मक कविता तथा चुट्किला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको समेत शुभारम्भ हुनेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?