“तरकारी खेतीबाट आनन्द तर कहिलेकाँहि भारतीय तरकारीले मार्छ”

साझा कथा । कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका गयाप्रसाद चौधरी आवत जावत गर्न मोटरसाइकलको प्रयोग गर्छन् । पक्की घरमा बस्छन् । खेत जोत्नका लागि उनीसँग पावर टिलर छ । सिँचाइका लागि पम्पसेट र विद्युतीय मोटर छ । यी सबै सम्पत्ति उनले व्यावसायिक तरकारी खेतीबाट जोडेका हुन् ।

डेढ दशक अघिदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका चौधरीले वर्षमा दश लाख बढीको तरकारी बेच्दै आएका छन् । खर्च कटाएर आधाभन्दा बढी रकम आम्दानी हुने गरेको उनी सुनाउँछन् । चौधरी परिवारसँग एलानी एक बिघा जग्गा छ । त्यसै जग्गामा व्यावसायिक तरकारी खेती हुने गरेको छ । “परम्परागत रुपमा खेती गर्दा वर्षभरिका खानका लागि पुग्दैनथ्यो”, विगत सम्झँदै चौधरीले भने, “सानो बारीमा थोरै सिमी र खुर्सानी लगाइने गरिएको थियो, बुबासँगै काँधमा झोला झुण्याउँदै घरघरमा पुगेर चामलसँग तरकारी साटेर ल्याउने गरेका थियौँ ।”

उनी भन्छन्, “त्यसै चामलको माड पूरै परिवारको छाँक टार्ने साधन हुन्थ्यो, जग्गामा सिँचाइ सुविधा नहुँदा अन्न राम्ररी फल्दैनथ्यो ।” खेतमा छर्नका लागि थोरै बीउ राख्ने गरिएको थियो । त्यसमा घुन लाग्दा अरुसँग बीउ मागेर खेतमा छरिने गरिएको थियो ।

“खेतबारीमा अन्न थोरै फल्न थालेपछि परिवार पाल्न कठिन भयो, अधियामा जग्गा कमाउन थाल्यौँ”, उनले सुनाए, “अधिया लगाएर आउने अन्न बेचेर आएको रकम बचत ग¥यौँ, बचत रकमबाट सिँचाइका लागि पम्पसेट खरिद गरियो, सिँचाइको सुविधाले अन्न फल्न थाल्यो, त्यस पछि तरकारी खेती सुरु ग¥यौँ ।”

व्यावसायिकरुपमा तरकारी खेती गरेको १५ वर्ष बितेको छ । सिँचाइ सुविधाले केही नफल्ने जग्गामा चौधरी परिवारले तरकारी खेतीसँग अन्नसमेत लगाउने गरेका छन । दश कट्ठा जग्गामा चौधरी परिवारले वर्षभरिनै तरकारी खेती गर्दै आएका छन । बाह्र जनाको परिवारको खर्च तरकारी खेतीले धानिँदै आएको छ । गयाप्रसादजस्तै सुन्दरीफाँटाका शिवराज चौधरीले पनि तरकारी खेती गर्दै आएका छन् ।

वैदेशिक रोजगारीमा मलेसिया पुगेर फर्केका चौधरीले व्यावसायिकरुपमा तरकारी खेतीलाई अँगाल्दै आए । “चार वर्ष मलेसियामा बस्दा बिरामी परेपछि घर फर्के”, उनले सुनाए, “विदेशबाट कमाएर ल्याएको पैसा उपचारमा सिद्धियो, उपचार गरी निको भएपछि थोरै रकम लगानी गरी व्यावसायिकरुपमा तरकारी खेतीमा संलग्न छु ।” आठ जनाको परिवारको खर्च तरकारी खेतीबाट आएको रकमले धानिँदै आएको उनी बताउँछन् ।

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई उत्पादित तरकारी बेच्नका लागि बजारको अभाव भने खेप्नुपरेको छ । भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा कुनै बेला लागत खर्चसमेत उठाउन गाह्रो हुने गरेको तरकारी खेतीमा संलग्न किसान किरन चौधरीले गुनासो गरे । “तरकारी खेती गर्नका लागि पुँजीको अभाव छ”, उनले भने, “गाउँका अधिकांशको जग्गा एलानी छ, बैंकले बिना धितो ऋण दिँदैन, बैंक ग्यारेण्टीको व्यवस्था सरकारले गरेर ऋण उपलब्ध गराउने व्यवस्था गरिदिनुप¥यो ।” तरकारी खेतीको क्षेत्र विस्तार गर्न पुँजीको अभाव भएको उनको भनाई छ ।

उत्पादित तरकारी सडकको असहताका कारण बजारसम्म पु¥याउन निकै गाह्रो हुने गरेको बसन्ती चौधरीले बताइछन् । गाउँको उत्तरपश्चिममा खार खोला, पूर्वमा ओदाल खोला र दक्षिणमा ओदाल खोला र वनहरा नदी पर्दछ । नदी खोलामा पुल नहुँदा उत्पादित तरकारी बर्सातका बेला बेच्न नपाइने गरेको उनको भनाइ छ ।

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई प्रोत्साहित गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री नमूना कृषि कार्यक्रमअन्तर्गत अनुदानको रकम दुई वर्षदेखि उपलब्ध गराइदै आएको छ । गत आवमा कार्यक्रमअन्तर्गत ३० लाख र चालु आवमा रु १० लाख रकम अनुदानबापत उपलब्ध गराइएको छ ।

अनुदान रकमबाट व्यावसायिक तरकारी खेतीमा संलग्न किसानले लागि टनेल, मिनीटिलर, पावर टिलर, स्प्रे ट्याङ्की, हजारी, क्रेटलगायत खरिद गरी उपयोगमा ल्याएका छन् । अनुदानको रकमबाट तरकारीको बीउ खरिद गरी वितरण गर्ने कार्यसमेत हुने गरेको छ । मुख्यमन्त्री नमूना कृषि कार्यक्रममा एक सय ४५ परिवार आबद्ध रहेका छन् ।
रासस

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?