६१ दिनमै सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता तर प्रदेशमा अनिर्णित

साझा कथा । नेकपा एमाले सरकारबाट बाहिरिएको छ । साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नगएको र प्रधानमन्त्रीले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको हुनाले सरकार छोड्ने निर्णय गर्नुपरेको जानकारी दिए ।

पौडेलले प्रधानमन्त्रीले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको आरोप समेत लगाए । प्रधानमन्त्री दाहालले जेनेभा भ्रमणमा जान लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको उनको आरोप थियो ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको जिकिर गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै दिन पुस ११ गते एमाले केहि मन्त्रीसहित सरकारमा सहभागि भएको थियो ।

६१ दिन सरकारमा बसेर फिर्ता भएकोले एमालेले प्रदेशका हकमा के हुने भन्ने निर्णय गरेको छैन । तत्कालका लागि प्रदेश सरकारबाट एमाले बाहिरिएको छैन ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?