रामचन्द्र पौडेल अभागी कि भाग्यमानी ?

साझा कथा टिप्पणी

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई धेरैले हरुवा नेता वा अभागी नेताको रुपमा चिन्छन् । हार्दा हार्दा हैरान भएका नेताले राष्ट्रपति पाउने भयो भनेर धेरै खुशी पनि भइरहेका छन् । तर उनको राजनैतिक इतिहास भन्छ, उनी पटकपटक जितेका भाग्यमानी नेता हुन् । २०१७ सालदेखि राजनीति सुरु गरेका पौडेल ८० बर्ष पुग्नै लाग्दा देशको राष्ट्रपति पदमा आसिन हुँदै छन् ।

यो उनको जीवनको सबैभन्दा ठूलो अवसर हो । काँग्रेसका धेरै नेता कार्यकर्ताले सानो चित्तको नेता भनेर आरोप लगाउने पौडेलले ३० बर्षमा ठूलो ठूलो भाग पाएका छन् । तत्कालीन संवैधानिक व्यवस्थामा भएको त्रुटीका कारण १७ पटक प्रधानमन्त्रीको चुनाव हारेर हरुवा नेताको रुपमा बिम्ब बनेको मात्रै हो । उनले हारेको ०७२ सालको संसदीय चुनाव मात्रै हो, नत्र सधैँ जितिरहेका छन् । २०१७ सालदेखि राजनीति सुरु गरेका पौडेलले २०२३ सालमै सरस्वति क्याम्पसको स्ववियु सभापति जिते । ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव बने ।

०४० सालमा पौडेल कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक भए । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेलले त्यसयता निरन्तर फाइदा उठाइरहे । २०४८ सालमा पहिलोपटक सांसद चुनिएका उनले सुरुवातमै स्थानीय विकास मन्त्री पाए । २०४९ सालमा कृषि मन्त्री बने । २०५१ मा सभामुख भए र पाँच बर्ष ढुक्कले बसे । २०५७ सालमा उपप्रधान तथा गृहमन्त्री बने । २०६२ सालमा पार्टीको महामन्त्री बने । माओवादी शान्ति प्रकृयामा आएपछि पनि उनलाई अवसरले छोडेन । उनी शान्ति समितिको संयोजक भए । २०६३ सालमा शान्ति मन्त्री भए । ०६४ मा पार्टीको उपसभापति भए ।

छोरा चिन्तन पौडेललाई सरकारी नियुक्ति दिलाउन सफल भएका उनी सम्धी युवराज भुषाललाई पुनर्निर्माण प्राधिकरणको सिइओ बनाउन पनि सफल भए । फागुनको अन्तिम साता राष्ट्रपति बन्दै गरेका रामचन्द्र पौडेल पटक पटक सत्ताको स्वाद चाखेका सफल राजनीतिज्ञ हुन् । प्रमुख कार्यकारी नेतृत्वमा नपुग्दैमा हरुवा अथवा अभागी नेता भन्न कहाँ पाइन्छ र ?

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?