साझा कथा । रोजगारीको अभावमा नेपाल छाड्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । काम गर्ने अवसर प्राप्त नहुनु त छँदै छ, प्राप्त भएका रोजगारीबाट रोजीरोटी समेत नचल्ने अवस्थाका कारण विदेश जानेको संख्या दिनदिनै बढिरहेको छ । अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालको उल्लेख्य श्रम जनशक्ति जाँदा यहाँ भने चिन्ता छाएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९–८० को पहिलो सात महिना अर्थात् गत साउनदेखि माघसम्ममा साढे चार लाखभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा मलेसिया, खाडीलगायतका मुलुकमा गएका छन् । विभागका अनुसार सो अवधिमा चार लाख ६२ हजार जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान) जानेको हिस्सा ८० प्रतिशत छ भने बाँकी अन्य देशमा गएका छन् ।
विभागका महानिर्देशक उमाकान्त आचार्यले मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको बताए । पछिल्लो समय साउदी अरब जानेको सङ्ख्या भने घटेको छ ।
माघमा मात्रै पाँच हजार ८३७ महिलासहित ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । सात महिनामा सबैभन्दा धेरै मलेसियामा जानका लागि श्रम स्वीकृति लिएका छन् । मलेसियाका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २० हजार छ । सो अवधिमा कतारका लागि १२ हजार ७०४, साउदीका लागि १० हजार ५७६, संयुक्त अरब इमिरेट्स (यूएई) नौ हजार ७७० र कुवेतका लागि दुई हजार ९९२ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो पटक विगतको तुलनामा युरोप र एसियाली मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीमा जानेको सङ्ख्या बढ्न थालेको छ ।
गत माघ महिनामा रोमानिया जान ८०४, जापान ८८२, साइप्रस ४१७, क्रोएसिया ४७१, माल्टा २७०, पोल्यान्ड ७२० र पोर्चुगल जान ४५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
त्यसो त पछिल्लो समयमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १२० देशमा नेपाली पुगेका छन् । श्रम स्वीकृति नलिई जानेको सङ्ख्या पनि हजारौँमा छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपाली काम गर्न गएका छन् । यी मुलुकमा डिपेन्डेन्टका रूपमा काम गर्न जाने धेरै छन् । ती मुलुकमा जानेको संख्या कति छ यकीन छैन ।
वैदेशिक रोजगारी वा अन्य कामले विदेश जानेको संख्या अहिलेसम्म करिब ६५ लाख छ । देशको यति ठूलो युवा जनशक्ति परदेशमा हुँदा नेपालका ग्रामीण भूभाग रित्तो जस्तै भएका छन् । वृद्धवृद्धा र बालबच्चा मात्रै रहने गरेका गाउँहरुबाट उनीहरु पनि शहरतिर पसेपछि गाउँ रित्तो हुन थालेका हुन् । अहिले अधिकाँश गाउँमा युवाहरुले गर्ने कामहरु प्रभावित भएका छन् ।