साझा कथा । नेकपा एमाले विभाजन भएपछि आक्रोशित भएको एमाले संस्थापनले टुक्रिएर गएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई पार्टी नै स्वीकार गरेन । एकीकृत समाजवादी पार्टी गठन गर्दा एमाले अध्यक्ष केपी ओलीले ठाडै अस्वीकार गरेर ।
अघिल्लो संसदमा माधव नेपालसहितका १४ एकीकृत समाजवादीतिर लागेका नेताको पद नै खुस्काउन एमाले अध्यक्ष केपी ओलीले संसद सचिवालयमा पत्र नै दर्ता गराए । त्यक्तिले नपुगेर सभामुखले राजनीति गरेको भन्दै संसद अवरोध मात्रै गरेनन, सर्वोच्चमा माधव नेपालसहितको पद खोस्न रिट समेत दर्ता गराए । उक्त मुद्दा अझै अदालतमै विचाराधीन छ ।
पार्टीको १० औं महाधिवेशनमा एमालेले एकीकृत समाजवादी बाहेकका दललाई निम्तो दियो । तर माधव नेपालको पार्टीलाई पार्टी नै कहाँ छ र ? भन्दै दुत्कार्यो । गत चुनावमा नेपालको पार्टीलाई राष्ट्रिय दल हुन नदिन पनि एमालेले अधिकतम प्रयास गरेको थियो ।
अहिले भने कथा फेरिएको छ । राजनीति बदलिएको छ । यो अवस्थामा एमाले अध्यक्ष ओली अप्ठ्यारोमा छन् । उता माधव नेपाल एक बर्ष प्रधानमन्त्री पद प्राप्त गर्ने भद्र सहमति गरी ८ दलीय गठबन्धनमा सामेल छन् । राष्ट्रपति चुनावले एमाले अप्ठ्यारोमा परेपछि अहिले एमालेले एकीकृत समाजवादीलाई फकाउन कोसिस गरिरहेको छ । अहिले एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई एमालेमा गाभ्ने र संसदको ठूलो दल बन्ने सपना बुनिरहेका छन् ।
एकीकृत समाजवादी एक्लैलाई फकाएर ८ दलीय मोर्चाबाट अलग गराई एमालेमा गाभ्न सके एमालेलाई राष्ट्रपति चुनावको अंकगणितमा खासै फरक पर्ने त होइन । तर पहिलो पार्टी बन्ने सपना भने पुरा हुन सक्छ । राष्ट्रपति चुनावमा निर्णायक मत बोकेर बसेको माओवादी कांग्रेससँग टासिँदासम्म एमालेका राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई जित हात पार्न मुश्किल नै छ ।
एमालेले सक्दा अन्य दललाई पनि फकाएर राष्ट्रपतिमा बाजी मार्ने, त्यसो गर्न नसकिए पनि एकीकृत समाजवादीलाई एमालेमै गाभेर संसदको ठूलो दलका रुपमा संविधानको धारा ७६ (३) कुरेर प्रधानमन्त्रीको पर्खाईमा बस्ने योजना बनाएको छ । त्यही योजना मुताविक एमालेले एकीकृत समाजवादीसँग औपचारिक वार्ताको थालनी गरेको छ ।
राष्ट्रपति चुनावमा आफना उम्मेदवार सुवास नेम्वाङलाई सहयोग गर्न प्रस्ताव गर्ने गरी एमालेले अन्तर्यमा भने एकीकृत समाजवादीलाई आफनो पार्टीमा गाभ्न भित्री छलफल चलाइरहेको छ । त्यही क्रममा बिहिबार एमाले नेताहरु एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका पदाधिकारी भेटन एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तिनकुने आलोकनगरमै पहिलो पटक पाइला टेकेका छन् ।
पहिलो पटक एमाले नेताहरु आफनो पार्टी कार्यालयमा आउनुलाई एकीकृत समाजवादीले भने सकारातमक रुपमा लिएको छ । कुनै बेला पार्टी नै नगनेको एमालेले माधव नेपाललाई महत्व दिएर वार्ता थालनी गर्नु, पार्टीको नाममा नै औपचारिक सम्वोधन गरेर पत्र पठाउनु र राष्ट«पति उम्मेदवार नेम्वाङसहितका एमालेका नेताहरु नै एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमै पहिलो पटक पुगेर सम्वाद थालनी गर्नुलाई एकीकृत समाजवादीले सहकार्यको ढोका खुलेको प्रतिक्रिया दिएको छ ।
तत्कालका लागि राष्ट्रपतिको चुनावमा सुवास नेम्वाङलाई सहयोग गर्न नसकिने समाजवादीले जवाफ दिएको छ । तर एमालेसँग औपचारिक वार्ताको प्रारम्भ हुँदा समाजवादीका नेता कार्यकर्ताहरु भने खुशी देखिएका छन् ।
सामाजिक सञ्जालमा भने दम्भ र आवेगका कारण समाजवादीलाई भाउ नदिएको एमालेले अहिले संसदको पहिलो पार्टी बन्नका लागि निहुरिएको टिप्पणी भएको छ ।