कोरिया रोजगारीबारे अफवाह नै बढी ?

साझा कथा 
वेरोजगार हुन् या रोजगार, नेपाली युवाहरुको आकर्षक रोजाई हो दक्षिण कोरिया । कमाईका हिसाबले पनि आकर्षक गन्तव्य मानिने दक्षिण कोरियाबारे बेलाबखत हल्लाहरु आउने गर्छन् । कहिले यो बर्ष कामदार थप्दै कोरिया, कहिले यति हजार नेपाली कोरिया जान पाउने त कहिले एकैपटक यति हजार जाने भए कोरिया । अधिकाँश मूलधारका मिडियामा यस्ता समाचारले ठाउँ पनि राम्रै पाइरहेका हुन्छन् ।

कतिपय यस्ता समाचारहरु अफवाहको रुपमा फैलिने गरेका र कतिपय हल्लाहरु नियोजित रुपमा फैलाउने गरिएको पाइएको छ ।
हालैमात्र रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भन्ने शीर्षकमा धेरै संचारमाध्यममा समाचारहरु आयो । समाचारहरुमा जनाइए अनुसार आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही २०२३ को फेब्रअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजादैँ छ । तर विगतमा पनि यस्तै हल्लाहरुले बजार तताउने गरेका थिए ।

खासगरी वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाबाट यस्ता समाचारहरु फिजाउने गरिएको पाइएको छ । शाखाले दाबी गरेअनुसार कहिल्यै पनि कामदारहरु कोरिया नगएको कोरिया भाषा परीक्षा पास गरेर बसेका युवाहरु बताउँछन् ।

दाङ तुलसीपुरका कुमार शर्माले २०१८ मै कोरियन भाषा परीक्षा उत्तिर्ण गरेका थिए । उनी कोरिया जाने सपनामा औधी खुशी पनि भए तर २०१९ पछि कोभिड सुरु भयो । कोरियाले कामदारमा कटौति गर्यो । २ बर्ष त भाषा परीक्षा नै भएन । शर्माको सपना चकनाचुर भयो । उनले फेरि २०२२ मा परीक्षा दिए, उत्तिर्ण पनि भए तर अहिलेसम्म जान पाएका छैनन् ।

यस्तै गोरखा आरुघाटका रेशम न्यौपानेले २०१६ मै एकपटक कोरियन भाषा परीक्षा उत्तिर्ण गरेका थिए । परीक्षा उत्तिर्ण गरेपछि २ बर्षसम्म म्याद हुन्छ । २ बर्षसम्म जान पाइएन भने रोष्टरबाट नाम हटाइन्छ र पुनः परीक्षा दिनुपर्ने प्रावधान छ । न्यौपाने २ बर्षसम्म कोरिया जान पाएनन् । उनले अहिले फेरि भाषा परीक्षा उत्तिर्ण गरेका छन् तर उत्तिर्ण भएको ५ महिना पुग्नै लाग्दा उनको कोरिया उडान तय भएको छैन । न्यौपानेका अनुसार उनका धेरै साथीहरु भाषा परीक्षा उत्तिर्ण गरेर पनि जान पाएका छैनन् ।

“हरेक बर्ष निर्धारण गरिएको संख्या भन्दा बढी कामदार जान पाउने वा कोरियाले लैजाने लगायतका समाचारहरु बजारमा आउँछ, तर कोरियन भाषा परीक्षा पास गरेकाहरु हजारौँको संख्यामा छन्, जो अहिलेसम्म जान पाएका छैनन,” शर्माले भने ।

“यस्ता समाचारहरु ईपियस कोरियन शाखाबाट नियोजित रुपमा प्रचारबाजी गरिएको र बढी भन्दा बढाी नेपाली युवाहरुलाई कोरिया भाषा परीक्षामा सहभागी गराउने र रकम असुल्ने मात्रै उदेश्य देखिन्छ,” न्यौपानेले भने ।

कोरोना सङ्क्रमणअघिका १४ वर्षमा कोरियाले वार्षिक औसत पाँच हजार श्रमिक नेपालबाट लैजाँदै आएको छ । पछिल्लो एक वर्ष १५ हजारभन्दा बढी कोरिया पुगेका छन् । नेपाली युवा अहिलेसम्म कोरियामा मुख्य गरी दुई क्षेत्र कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा काम गर्न जाने गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?