बुटवल नारायणगढ सडकखण्डका कारण हैरानी, किन कारबाहि हुन्न ठेकेदारलाई ?

साझा कथा । चितवनको नारायणगढदेखि रुपेन्देहीको बुटवल जम्मा ११५ किलोमिटर दुरीमा छ । तर सार्वजनिक सवारी मात्रै होइन, नीजि गाडी वा साधनमा त्यहाँ पुग्न अहिले कम्तिमा पनि ६ घण्टा लाग्छ । २ देखि साढे २ घण्टामा तय हुने यात्रा अहिले तेब्बर बढेको छ । सडकमा खाल्डाखुल्डी हुँदा सवारी साधन विग्रिएका मात्रै छैनन्, त्यो सडक भएर हिँड्ने जो कोहिको २ दिन त ज्यान दुख्छ । धुलो र धुँवाले पार्ने असर त छँदैछ ।

नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत सडक छेउ रहेका घरहरुको झन् विजोग छ । घरको अग्रभाग मात्रै होइन, पुरै घर धुलोले ढाक्छ । भित्री कोठाहरु धुलोले भरिन्छ । ती घरका व्यक्तिहरुलाई लुगा सुकाउने ठाउँ छैन । धुलोकै कारण रुख विरुवा हरियो देखिनै छोडेका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामले गति लिन नसक्दा नागरिकहरुले यो हैरानी खेप्नुपरेको छ । निर्माण सुरु भएको चार वर्ष बितेको छ । तर प्रगति भने सन्तोषजनक छैन । यो सडकको भौतिक प्रगति हालसम्म २५ प्रतिशत मात्र छ ।

जिम्मेवार निकायले अनुगमन गर्न नसक्दा र कार्यान्वयनमा चासो नदेखाउँदा सडक विस्तारको कामले गति लिन सकेको छैन । सडक विभागले यसअघि तोकिएको समय सीमाभित्र निर्माणको काम नसकिए ठेक्का तोड्ने भन्दै सूचना नै प्रकाशित गरेको थियो । तर सडक विभागले लचिलो बन्दै काम अघि बढाउन सकेको छैन । छ महिनामा प्रगति विवरण हेरेर ठेक्का रद्द गर्ने या नगर्ने भन्ने निर्णयमा पुग्ने बताउँदै सूचना जारी गरेको थियो तर काम अघि नबढ्दा थप निर्णय लिन सडक विभागले आनाकानी गरेको स्थानीयको आरोप छ ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार कम्पनीले अझै सोचे अनुरुपको काम गर्न सकेको छैन । आफूहरूले पटक पटक निर्माण कम्पनीलाई काम गर्ने मौका प्रदान गरे पनि कम्पनीले काममा बेवास्ता गर्दै आएकाले आम नागरिकले हैरानी खेप्नुपरेको थापाको भनाई छ ।

काम सन्तोषजनक नभएकाले पहिले नै ठेक्का तोड्ने योजनामा थियो सडक विभाग । तर पछि कम्पनीले काम गर्छौ भनेर आश्वासन दिएपछि पुनः छ महिनाका लागि समय दिइएको थियो । अझै पनि काम सन्तोषजनक नरहेको थापाले बताए । थपिएको अन्तिम समय सीमा आगामी असारमा सकिँदै छ । तर कामको प्रगति भने सुस्त छ ।

१३ किलोमिटर लामो सडक विस्तार गरी चार लेनको बनाउने गरी २०७५ पुसमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ एसोसिएसन र सडक विभागबीच सम्झौता भएको थियो । यस सडकलाई दुई खण्डमा विभाजन गरेर सो कम्पनीलाई नै जिम्मा दिइएको थियो ।

कारबाहि गर्ने निकाय सडक विभागका पदाधिकारी र माथिल्लो नेतृत्वको लचकताका कारण उसले मनोमानी गर्न पाएको स्थानीयको गुनासो छ ।

तीन जिल्लामा पर्ने नारायणगढ–बुटवल सडक खण्डलाई गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । गैँडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने—बुटवल ४८ किमी सडकलाई खण्ड २ (पश्चिम खण्ड)मा छुट्टाएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ। दुबैतर्फ कामको सुस्तता उस्तै छ ।

निर्माणको जिम्मा पाएको कम्पनीले काम गर्ने श्रमिकहरूलाई समयमा भुक्तानी नगरेको समेत गुनासो आउने गरेको छ । समयमा काम नगर्ने र कामदारलाई भुक्तानी समेत नगर्ने कम्पनीले भने संरक्षण पाउँदै आएको छ । कारबाहि गर्ने निकाय सडक विभागका पदाधिकारी र माथिल्लो नेतृत्वको लचकताका कारण उसले मनोमानी गर्न पाएको स्थानीयको गुनासो छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?