१६ बर्षमा ४ वटा सरकार चलाएको माओवादीले के गर्यो ?

साझा कथा । माओवादी जनयुद्धमा संगै बसेर तत्कालीन राज्य व्यवस्थासंग सशस्त्र जनयुद्ध लडेका विभिन्न माओवादी घटकहरु आज एउटै मञ्चमा जुट्ने भएका छन् । विभिन्न समयमा राजनीतिक र सैद्धान्तिक मतभेद राख्दै विभाजित रहेका शक्तिहरुलाई फाल्गुन २१ गते सहिद तथा वेपता योद्धा सन्तति फाउन्डेसनले एउटै मञ्चमा जुटाउने प्रयास गरेको हो ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादीका संयोजक तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन बैध (किरण), नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव), नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला, नेकपा माओवादीका संयोजक कर्णजित बुढाथोकीले सम्बोधन गर्दैछन् । कार्यक्रममा जनयुद्ध, नेतृत्वको दायित्व र सहिद तथा वेपत्ता योद्धाको योगदान बिषयक अन्तरक्रिया राखिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सबै पार्टीका उच्चपदस्थ नेतृत्वको सहभागी हुने कार्यक्रम रहेको फाउन्डेसनले जनाएको छ । २०६३ सालमा शान्ति प्रकृया प्रारम्भ भएपछि मूलधारको राजनीतिमा आएको माओबादीले पछिल्लो १६ बर्षमा ४ वटा सरकारको नेतृत्व गरिसकेको छ भने ८० जना भन्दा बढी नेताहरु मन्त्री भइसकेका छन् । तर वेपत्ता, घाइते, अपाङ्ग र सहिदका सपना पुरा नभएको गुनासो सुनिन्छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षमा १२८ सिट (नारायणकाजी नेतृत्वको पार्टीसमेत जोड्दा) प्राप्त गरेर पहिलो पार्टी भएको थियो । तर समयक्रमसँगै पार्टी खुइलिँदै गएको छ । एकीकृत माओवादी अहिले १० बढी पार्टीमा विभाजित भएको छ । यो अवधिमा संविधानसभाबाट संविधान जारी गर्ने, समावेशी, समानुपातिक, महिला, जनजातिहरुका मुद्दालाई मूलधारमा ल्याउने र उनीहरुका अधिकार सुनिश्चित गर्ने काम माओवादी नेतृत्वबाट भएको छ ।

तर जुन उद्देश्यका साथ सशस्त्र युद्ध सुरु गरिएको, त्यस दिशामा माओवादी नेतृत्वबाट खासै काम हुन नसकेको विश्लेषकहरुको भनाई छ । संसदीय राजनीतिविरुद्ध उठेको माओवादी अन्ततः संसदीय राजनीतिमा सत्ता जोडघटाउमा माहिर बन्दै गएको छ । प्रचण्ड नेतृत्वको पार्टीले काम गर्न नसक्ने दाबी गर्दै फुटेका मोहन वैद्य, विप्लव, गोपाल किराँती लगायतका पार्टी अहिले गुमनाम जस्तै छन् । तत्कालीन चर्चित नेता डा. बाबुराम भट्टराई घुम्दै फिर्दै फेरि प्रचण्ड नेतृत्वको माओवादीसँग एकता गर्ने मुडमा पुगेका छन् ।

युद्धताका युद्ध रणनीतिकारको रुपमा चित्रित रामबहादुर थापा बादल एउटा समूहसहित एमालेमा रहेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?