Ad Banner

माओवादी घटकहरु एकठाउँ, गरे यस्तो निर्णय (विज्ञप्तिसहित)

साझा कथा । सर्वोच्च अदालतले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धका मुद्दा दर्ता गर्ने निर्णय गरेसँगै माओवादी घटकहरु एकजुट भएका छन् । सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसनले गरेको कार्यक्रममार्फत एकताको विगुल फुकेका उनीहरुले मंगलबार संयुक्त बैठक गरी आफूहरुविरुद्ध मुद्दा दर्ता भए प्रतिवाद गर्ने निर्णय गरेका हुन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी पार्टीबाट विभाजित ८ पार्टीको बैठक बसेको थियो । बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।

शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानूनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न संयुक्त बैठकले सरकारसमक्ष माग गरेको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि नजिकिएका माओवादी नेताहरु सकेसम्म पार्टी एकता वा त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्नेबारे छलफल समेत छलफल भएको छ ।

‘शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित् विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्दछ । संक्रमणकालीन न्यायको प्रक्रियाविपरीतका काम कारबाहीहरुले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुयाउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौं,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । शान्ति सम्झौता र परिवर्तनकाविरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न हामी एकमत छौं । साथै विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा समेत प्रतिवद्ध छौं ।’

विज्ञप्तिमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, नेपाल समाजवादी पार्टी अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी। गजुरेल, नेकपा प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी महासचिव विश्वभक्त दुलाल आहुति, नेकपा माओवादी समाजवादी अध्यक्ष कर्णजित बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टीका सदस्य नारायणप्रसाद धिमालले हस्ताक्षर गरेका छन् ।

तस्बिरः रेणु दाहाल

यो पढ्नु भयो ?