साझा कथा । ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रम भइरहेका छन् । यसै अवसरमा नेकपा एमालेको मुख्यालय च्यासलमा पनि कार्यक्रम आयोजना भएको थियो । सो कार्यक्रममा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकाँश समय राष्ट्रपति विद्या भण्डारीको प्रशंसामा विताए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल प्रशंसायोग्य रहेको भन्दै उनले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको जिकिर गरे ।
राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुनु भएको उल्लेख गर्दै अध्यक्ष ओलीले उहाँको यस खालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरुको लागि गर्वको विषय भएको बताए । भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको बताउँदै अध्यक्ष ओलीले भने, ‘आज महिला दिदीबहिनीहरुले गौरव गर्नुपर्दछ कि विद्या भण्डारी जस्तो महिला नेतृ, तपाईहरुको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले, त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियत भोजपुरको एउटा गाउँमा जन्मिएर, गाउँको पाठशालाको शिक्षादिक्षाबाट आएर , त्यस्ता ठाउँबाट आएर संघर्ष गर्दै राष्ट्रपतिको जिम्मेवारी बहन गर्ने । र, त्यो जिम्मेवारी एक पटक मात्रै होइन । फेरी उहाँ जिद्दी गरेर यहाँ रहनै पर्छ भनेर होइन । यो हामी नेपालीहरुका लागि गौरवको विषय हो ।’
अध्यक्ष ओलीले महिलाहरु अव प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए ।
मंगलबार पनि राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रपति भण्डारीको प्रशंसामा समय खर्च गरेका थिए । आफ्नो कार्यकालमा दुई पटक असंवैधानिक संसद विघटन गर्दा विद्या भण्डारीले दिएको साथलाई ओलीले महत्वका साथ प्रचारप्रसार गर्ने गरेका छन् ।
तर राष्ट्रपतिको रुपमा विद्या भण्डारी विवादरहित भने रहिनन् । नियुक्त भएपछि प्रहरी एकेडेमी मासेर शीतल निवासको क्षेत्र विस्तार गर्ने योजना, सेनाका जवानलाई आफ्नो र छोरीहरुको जुत्ता बोकाउने दृश्य, हेलिकोप्टर खरिद, असंवैधानिक संसद विघटनमा पुनर्विचार नगरी सदर गर्नु, नागरिकता विधेयकलाई लामो समय अल्झाइराख्नु जस्ता परिघटनाहरु उनको छविलाई धुमिल्याउने घटनाहरु हुन् ।