पाठेघर र स्तन क्यान्सरको उपचार निःशुल्क गर्छौं – प्रधानमन्त्री

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरुमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई विशेष कार्यक्रमको रुपमा निःशुल्क सेवा बिस्तार गर्ने बताएका छन् । बुधवार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महिलाहरुमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रुपमा निःशुल्क सेवा विस्तार गरिने बताए ।

पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिने बताउँदै उनले महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम पनि सञ्चालन गरिने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना गरिने पनि जानकारी गराए ।

विदेशमा समस्यामा परेका नेपाली श्रमिक महिलाहरूका बारेमा राज्यले विशेष संयन्त्र निर्माण गर्दै उनीहरूको समस्या समाधान गर्ने बताउँदै उनले निजी क्षेत्रमा कार्यरत महिलाहरुलाई समेत अनिवार्यरुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने नीतिलाई कडाईका साथ लागु गरिने स्पष्ट गरे ।

प्रधानमन्त्री प्रचण्डले सूचना, प्रविधिमा महिलाको सहभागिता र स्वामित्व अभिवृद्धि गर्न महिलाकेन्द्रित प्रविधि तथा उपयोगको नीतिको विकास र यसका लागि राज्यका तर्फबाट लगानीमा जोड दिइने बताए । त्यस्तै शिशु स्याहार केन्द्रहरूको स्थापना, महिनावारी स्वास्थ्यमा सुधार, स्थानीय न्यायिक समितिहरूलाई महिलामैत्री बनाउने उनको कथन थियो ।

त्यस्तै हिंसापीडित महिलाहरूलाई सुरक्षा, संरक्षण तथा रोजगारी स्थापना गर्ने गरी पुनस्र्थापना तथा रोजगार केन्द्र स्थापना गर्ने लगायतका काम अगाडी बढाइने प्रधानमन्त्रीको भनाई छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?