राष्ट्रपति निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा, भोली नै नतिजा

साझा कथा । बिहीवार हुने राष्ट्रपति निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीवार राष्ट्रपतिको लागि निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, २०७९ निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक हुने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले प्रदेश सभातर्फ ५५० जना र संघीय संसदतर्फ ३३२ जनाको मतदाता नामावली रहेको जानकारी दिँदै मतदानका लागि संघीय संसद भवनको ल्होत्से हलमा दुईवटा मतदान केन्द्र स्थापना गरिएको बताए ।

ल्होत्से हल भित्रका दुई मतदान केन्द्रमा संघीय सांसद र प्रदेश सांसदहरुले छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको बताउँदै उनले संघ र प्रदेशका सांसदहरुको छुट्टाछुट्टै लाइन हुने पनि जानकारी दिए । मतदान बिहान १० बजेदेखि ३ बजेसम्म हुने कार्यतालिका छ ।

निर्वाचन अधिकृत पौडेलले मतदानका लागि लाइन बस्नुअघि संघीय सांसद र प्रदेश सांसदहरुलाई छुट्टाछुट्टै ‘वेटिङ रुम’ बनाइएको पनि जानकारी दिए । त्यस्तै मिडियाका लागि पनि ‘वेटिङ रुम’ को व्यवस्था गरिएको उल्लेख गर्दै उनले अपरान्ह ४ बजेदेखि मतगणनाको कार्य शुरु गरेर साँझ ७ बजेसम्म गणना सकिसक्ने लक्ष्य रहेको जानकारी दिए ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?