Ad Banner

राष्ट्रपति पौडेलको जीवनयात्रा – रिस्तीखोलादेखि शितल निवाससम्म

साझा कथा । राष्ट्रपति निर्वाचनको दिन फागुन २५ गते विहान संघीय संसद भवनबाहिर संचारकर्मीसँग कुराकानी गर्दै नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भनेका थिए, ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु । राष्ट्रपति निर्वाचित भएमा तपाई (पत्रकार) हरुलाई पनि बोलाउने छु ।’ पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भए सर्वसाधारणले दुःख पाउने गरी कुनै कार्य नगर्ने दावी गरेका थिए ।

निर्वाचित हुनुभन्दा केहि घण्टा अगाडि बोलेका कुरा पुरा गर्न उनको समय सुरु भएको छ । विहिबार भएको निर्वाचनमा उनी अत्याधिक मतका साथ राष्ट्रपतिमा विजयी भएका छन् । उनलाई नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतले मत दिएका थिए । संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् ।

विहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भए । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए । उता उनका प्रतिद्वन्द्वी एमाले नेता सुवास नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका थिए ।

राष्ट्रपति पौडेलको जीवनकहानी

वि.सं २००१ सालको असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरा (स्थानीयले रिस्तीखोला भन्छन्) जन्मेका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे । राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ज्वालामुखी बोकेर आफु राजनीतिमा होमिएको पौडेलले बताउने गरेका छन् ।

२०१७ सालदेखि राजनीति सुरु गरेका पौडेलले २०२३ सालमै सरस्वति क्याम्पसको स्ववियु सभापति जिते । ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव बने । ०४० सालमा पौडेल कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक भए । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल २०४८ सालमा पहिलोपटक सांसद चुनिए । उनले सुरुवातमै स्थानीय विकास मन्त्री पाए । २०४९ सालमा कृषि मन्त्री बने । २०५१ मा सभामुख भए र पाँच बर्ष ढुक्कले बसे । २०५७ सालमा उपप्रधान तथा गृहमन्त्री बने । २०६२ सालमा पार्टीको महामन्त्री बने । माओवादी शान्ति प्रकृयामा आएपछि पनि उनलाई अवसरले छोडेन । उनी शान्ति समितिको संयोजक भए । २०६३ सालमा शान्ति मन्त्री भए । ०६४ मा पार्टीको उपसभापति भए । पौडेलले पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा २०१९ देखि वि.सं २०४६ सम्म विभिन्न समय गरी १३ वर्ष जेल जीवन बिताए ।

उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन् भने संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास गरेका छन् । उनी श्रीमतीसहित पाँच सन्तानका पिता हुन् । उनका ४ छोरी र एक छोरा छन् । छोरा चिन्तन पौडेल विभिन्न राजनैतिक नियुक्ति लिने व्यक्तिमा पर्छन् ।

पौडेलले सातवटा पुस्तक लेखेका छन् । नेपाली काँग्रेस के भन्छ ?, सत्याग्रह, प्रजातान्त्रिक समाजवाद, विश्वासको यात्रा, अभिशप्त इतिहास, नयाँ सन्दर्भमा समाजवाद, कृषि क्रान्ति र समाजवाद उनका कृतिहरु हुन् ।

करिब तीन दशकसम्म संसदीय चुनावमा जीत हात पार्दै आएका पौडेलको राजनीतिक जीवनमा एउटा कालो धब्बाका रुपमा रहेको छ, प्रधानमन्त्री पदमा १७ पटकको पराजय । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । अर्को चरणमा झलनाथले बाजी मारे भने रामचन्द्रको प्रतिस्पर्धा खेर गएको थियो ।
लामो र अथक राजनीतिक सक्रियता रामचन्द्रको प्रमुख पूँजी हो । ०१७ सालपछिका हरेक राजनीतिक संघर्षहरुमा उनी संलग्न रहे र पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक बहन गरेको इतिहास छ । पटक–पटक मन्त्री हुँदा पनि कुनै गम्भीर विवादमा नपर्नु उनको सबैभन्दा ठूलो सफलता थियो । भ्रष्टाचारमा नमुछिएका इमान्दार छवि भएका नेता हुन् उनी ।

तर रामचन्द्रमाथि सानो चित्तको नेता भनेर टिप्पणी पनि हुने गरेको छ । उनी परिवारवादमा रमाउने गरेको काँग्रेसकै नेता कार्यकर्ताहरु टिप्पणी गर्छन् । हुन पनि उनका पछाडि लाग्ने नेता कार्यकर्ताको पंक्ति ठूलो छैन ।

राजनैतिक दाउपेचमा कमजोर मानिने उनी देशको प्रमुख पदमा आसिन भएका छन् । अघिल्लो महाधिवेशनमा पार्टी सभापति शेर बहादुर देउवालाई सघाएवापत् र माओवादी अध्यक्ष प्रचण्डको समेत सदाशयता प्राप्त गरेपछि पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
तनहुँको रिस्तीखोलाको पानी खाँदै हुर्केर सांसद, मन्त्री, सभामुख हुँदै रामचन्द्र पौडेलले शितलनिवाससम्मको यात्रा पार गरेका छन् । अबको ५ बर्षे कार्यकाल उनले बताएझैँ (सुरुको हरफमा) होला या अघिल्ला राष्ट्रपतिहरु झैँ विवादित होला, त्यो भने हेर्न बाँकी छ ।

यो पढ्नु भयो ?