साझा कथा । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग काँग्रेसले सहमति गर्नेकुरा सपनामा पनि नसोच्न आग्रह गरे । पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहा¥याउने भन्दै उनले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभइ ५ वर्ष नै अघि बढ्ने दाबी गरे । विहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग सहकार्य नहुनका लागि कुनै कसम नखाइएको भन्दै राष्ट्रपतिको चुनावपछि सहकार्य हुने संकेत गरेका थिए ।
यस्तै उनले पदको लोभका कारण पुस १० गते काँग्रेस सहितको गठबन्धन भत्किएको स्वीकार गरे । शुक्रबार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा उनले काँग्रेसका केहि नेताको पद मोहले गठबन्धन भत्किएको स्वीकार गरे ।
उनले नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमति अनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किएपनि आन्तरिक रुपमा सच्याएर अघि बढेको बताए । उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सुक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लैजानुको परिणाम बिहीवार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको स्मरण गरे ।
उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको जानकारी दिए । अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने उनको भनाई थियो ।
उपसभापति खड्काले द्वन्द्वकालीन मुदद १२ बुँदे शान्ति सम्झौतामार्फत नै अघि बढ्ने बताए ।