साझा कथा । सत्तारुढ नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा महिला उमेदवार बनाउन सुझाव दिएको छ । ८ दलीय सहमति अनुसार जनता समाजवादी पार्टीको भागमा सो पद परेको र जसपाले सांसद रामसहायप्रसाद यादवलाई उठाउने तयारी गरिरहेको बेला माओवादीको धारणा बाहिर आएको हो ।
शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको माओवादी धारका पार्टीहरुको बैठकले फरक समुदायको महिला उपराष्ट्रपति बन्नुपर्ने निश्कर्ष निकालेको हो ।
बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै माओवादीका महासचिव देव गुरुङले उपराष्ट्रपतिमा लैंगिक रुपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए । नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताउँदै उनले आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरुले पहल गर्नुपर्ने निर्णय गरेको जानकारी गराए ।
माओवादी घटकहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने भएको छ । बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का महासचिव गुरुङले बताए । पछिल्लो शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्ति देखिएकोप्रति उनको आपत्ति थियो ।
महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार विस्तार हुने जानकारी पनि दिए ।