साझा कथा । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार विपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व. विश्वेश्वरप्रसाद कोईरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले जनताको निराशालाई आशामा बदल्ने प्रण गरे ।
राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताए । देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतान्त्रिक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेका खाँचो औँल्याउँदै उनले समावेशी लोकतन्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धता जनाए ।
उनले भने, ‘जनताको हातमा सम्पूर्ण सत्ता ल्याउनको लागि विपी कोइराला लगायतका नेताहरुले जुन बलिदान गर्नुभयो । जसरी देशलाई नयाँ दिशा देखाउनु भयो । आज त्यो नयाँ दिशालाई साकार पार्ने मेरो कर्तव्य हो । जनताको निराशा हटाउँदै आशा र उत्साहको सञ्चार गराएर सम्पूर्ण लोकतन्त्र प्रेमिहरुमा नयाँ जागरण ल्याएर देशमा उन्नतिको बाटो समात्नुपर्छ ।’
राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए । उनले संग्रहालयमा वृक्षारोपण गर्नुका साथै संग्रहालयको अवलोकन समेत गरेका थिए । पौडेल बिहीवार भएको राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै निर्वाचित भएका थिए ।