Ad Banner

रामवरण र विद्या भण्डारीले घटाएको शितलनिवासको गरिमा बढाउलान् रामचन्द्रले ?

साझा कथा । ७ बर्षभन्दा बढी मुलुकको राष्ट्रपति भएकी नेकपा एमालेकी तत्कालीन उपाध्यक्ष विद्या भण्डारीको कार्यकाल आज आइतबारबाट सकिँदैछ । उनी सोमबार शितलनिवासबाट विदा हुँदैछिन् । भोली सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सपथ लिएपछि औपचारिक रुपमा पौडेलको पदभार सुरु हुनेछ । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा पौडेलले प्रधानन्यायाधीशसमक्ष राष्ट्रपति पदको शपथ ग्रहण गर्नेछन् । सर्वोच्चको प्रधानन्यायाधीस पद रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीले पौडेललाई सपथ गराउनेछन् ।

निवर्तमान राष्ट्रपति भण्डारी भोली नै शीतलनिवासबाट बूढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने तयारी भइरहेको छ । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते एमाले र माओवादीको समर्थनमा निर्वाचित भएकी थिइन् । राष्ट्रपति पदको जिम्मेवारी प्राप्त गर्ने पौडेल तेस्रो व्यक्ति र मुलुकको चौथो राष्ट्रपति हुन् ।

२०६५ साल जेठ १५ गते २५० बर्षीय राजतन्त्रलाई विदाई गर्दै मुलुक गणतन्त्रमा प्रवेश गरेको थियो । मुलुक गणतन्त्रमा प्रवेश गरेपछि आममानिसको जनजीवनमा तात्विक भिन्नता नआएको भन्दै व्यवस्थाको आलोचना हुँदै आइरहेको छ । त्यसलाई मलजल गरिरहेका छन् राष्ट्रपति हुने व्यक्तिहरुले । पहिलो राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपतिको रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा काँग्रेसको नेता कायमै रहेजसरी व्यवहार देखाउँदा उनको आलोचना हुँदै आएको थियो । पार्टीभित्रको समीकरण मिलाउन शितलनिवासमै पार्टीका नेताहरुलाई बोलाएर छलफल चलाउने होस् या आन्तरिक भ्रमण गर्दा देखाउने तडकभडक होस् उनले शितलनिवासको गरिमा जोगाउन सकेनन् ।

अझ जनआन्दोलनपछि जननिर्वाचित पहिलो सरकारले गरेको प्रधानसेनापति कारबाहि प्रकरणमा संविधानले नदिएको अधिकार प्रयोग गरी सेनापति थमौति गरेपछि उनको चर्को आलोचना भयो । त्यो भन्दा बढी उनले राष्ट्रपति रहँदा र नरहँदा उपचार, घरखर्च र विविध खर्चका लागि राज्यबाट करोडौँ रकम लिएपछि राष्ट्रपति पदकै धज्जी उडाए । त्यसले व्यक्तिगत रुपमा उनको मात्रै होइन राष्ट्रपति संस्था र राष्ट्रपति बस्ने शितलनिवासको गरिमा घटायो ।

त्यसपछि निर्वाचित भएकी विद्या भण्डारीबाट पनि शितलनिवासको गरिमा बढेन । उनको कार्यकालमा सबैभन्दा विवादित भएको विषय भनेको उनको आन्तरिक र वाह्य भ्रमणको शिलशिलामा हुने ‘सवारी प्रोटोकल’ बन्यो । यादव भन्दा धेरै आलोचित भइन् भण्डारी । त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा दुई पटक गरेको असंवैधानिक संसद विघटनको सम्बन्धमा केहि घण्टा समेत नरोकी गरिएको अनुमोदन प्रमुख कारण बन्यो । उनले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश मात्रै होइन, संसद विघटनजस्तो संवेदनशील विषयमा पनि सोँचविचार नगरी लालमोहर लगाइदिएपछि शितलनिवास थप आलोचित बन्यो ।

यति मात्रै होइन, सेनाका जवानलाई आफ्नो र छोरीहरुको जुत्ता बोकाउने, शितलनिवासको क्षेत्र बढाउन नजिकै रहेको प्रहरी एकेडेमीको जग्गा मिच्ने प्रयास गर्ने, हेलिकोप्टर खरिद गर्ने र बेलाबखत एमालेमा प्रभाव बढाउने अझ खासगरी अध्यक्ष ओलीको छाँयाको रुपमा काम गर्दा राष्ट्रपतिको रुपमा भण्डारीको मात्रै होइन संस्थाको पनि आलोचना भयो । राष्ट्रिय सभाका नियुक्ति, संसदलाई बाँड्ने टिकट र एमालेको आन्तरिक समीकरणमा खेल्न खोज्दा एमालेभित्रैबाट पनि उनको आलोचना भयो ।

राष्ट्रपतिको रुपमा जनतासँग जोडिएर मानवकल्याणका काम गर्ने, आफ्नो सवारीलाई सरल बनाउन भूमिका खेल्ने, सामाजिक सुधारका अभियान संचालन गर्ने, आफू संलग्न पार्टीभित्र खेल्ने प्रयास नगर्ने वा पार्टीको नेताभन्दा माथि उठ्ने प्रयास गर्ने जस्ता काम गर्न सकेको भए दुई जना राष्ट्रपतिको कार्यकाल सफल भएको मान्न सकिन्थ्यो तर उनीहरुले यतातिर सोँच्दै सोँचेनन् या नजरअन्दाज गरे । राजतन्त्रप्रति मानिसहरुको सकारात्मक धारणा बढ्नुमा पूर्व दुई राष्ट्रपतिको भूमिका प्रधान थियो ।

हालै निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई विगतका तिता व्यवहार सच्याउने र शितलनिवासको गरिमा बढाउने चूनौति छ । हुन त उनले निर्वाचित हुने दिन संचारकर्मीसँग भनेका थिए, ‘गणतन्त्रात्मक व्यवस्था कस्तो हुनुपर्छ म देखाउँछु ।’ आम मानिसले पनि पौडेलका आगामी पाँच बर्षे कार्यकाललाई संशयका साथ नियालिरहेका छन् । पटकपटक मन्त्री भएपनि देखिने विवादमा नमुछिएका र पार्टीभित्र पनि मध्यमार्गी धारका पौडेलबाट राष्ट्रपति पद र संस्थाको गरिमा बढाउने काम हुनेछ या झन् गिराउने काम हुनेछ, त्यसको छनक केहि महिनामै देखिनेछ ।

यो पढ्नु भयो ?