साझा कथा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेको डिजाइनमा सर्वोच्चमा प्रचण्डविरुद्ध मुद्दा हालिएको बताएका छन् । प्रत्यक्ष रुपमा एमाले नदेखिएपनि घटनाक्रमहरुले एमालेकै डिजाइनमा मुद्दा परेको संकेत मिलेको गुरुङको भनाई छ ।
सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध मुद्दा दायर भएपछि मोर्चा बनाएका माओवादी घटकहरुको आज (आइतबार) आयोजित पत्रकार सम्मेलनपछि साझा कथासँग कुराकानी गर्दै गुरुङले शान्ति सम्झौताका बखत एमालेको नेतृत्वमा नरहेको व्यक्ति अहिले पार्टीको नेतृत्वमा हुँदा समस्या आएको बताइए ।
अहिलेको एमालेको नेतृत्व शान्ति सम्झौता, शान्ति प्रकृया लगायत विषयप्रति असहिष्णु रहेको भन्दै उनले गणतन्त्रमा जाने बेला बयलगाडा चढेर अमेरिका पुग्न सकिन्न भन्ने नेताले शान्तिप्रकृयालाई आत्मसात गर्ला भन्नेमा शंका रहेको उल्लेख गरे ।
सर्वोच्चमा मुद्दा दायर गरेर शान्ति प्रकृयालाई उल्ट्याउने र प्रतिक्रियावादीहरुको स्वार्थ सिद्द गर्ने डिजाइनमा एमालेको नेतृत्वले सहयोग गरेको गुरुङले आरोप लगाए । एमालेसँग गठबन्धन हुँदा द्वन्द्वकालीन मुद्दाहरुका विषयमा केहि कुरा नउठ्ने तर सम्बन्ध विग्रनासाथ ती काम हुने गर्दा कतै न कतै शंका गर्नुपर्ने ठाउँ रहेको गुरुङको भनाई छ ।
शान्ति प्रकृयाका बाँकी कामहरु सम्पन्न गर्न गराउन एमालेकै नेतृत्व अनिच्छुक हुँदा समस्या सिर्जना भएको भन्दै उनले केहि दिनमै काँग्रेस, नागरिक समाज र अन्य दलका नेताहरुबीच अन्तक्र्रिया गरेर वर्तमान समस्या सुल्झाइने दाबी गरे ।