साझा कथा । आईसीसी विश्वकप लिग – २ अन्तर्गत एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अल आउट भएको छ । जसमा सन्दिप लामिछानेले सबैभन्दा धेरै ५ विकेट लिए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रनमा सिमित रह्यो । पीएनजीका लागि असाड भालाले सर्वाधिक २० रन बनायो । त्यस्तै सेसे बाउले १८ रन बनाउँदा कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले १० ओभर बलिङ गर्र्दा १ मेडेन ओभरसँगै २५ रन खर्चे ।
नेपालका लागि ललित राजवंसी र कुशल मल्लले दुई–दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए । चर्को घामकाबीच नेपालले अहिले व्याटिङ गर्दैछ ।
नेपाल लिग २ मा ३४ खेलबाट ३६ अंकसहित चौथो स्थानमा छ भने पीएनजीले ३४ खेलबाट मात्र ११ अंक जोडेको छ ।