साझा कथा । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्यूगिनीविरुद्ध भएको आजको खेलमा नेपालले विस्फोटक प्रदर्शनी गर्दै जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो । यता, नेपालले भने १ विकेटको क्षतिमा ७ दशमलव ४ ओभर खेल्दै लक्ष्य भेट्टाएको हो । आजको खेलमा नेपालले अधिकांश रन चौका र छक्का ल्याएको थियो । नेपालका लागि आसिफ शेखले २१ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा अविजित ५३ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले १४ बल खेल्दै चार चौका र २ छक्काको मद्दतमा ३३ रन बनाए ।
पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफले ३÷३ ओभरमै ५१ रनको साझेदारी गरेका थिए । भुर्तेल आउट भएपछि आसिफले कुशल (मल्ल) सँग मिलेर नेपाललाई जित दिलाए । कुशल मल्लले १२ रन बनाए । १३ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे ।
घरेलु मैदानमा भइरहेको लिग टू को अन्तिम शृखंलामा लगातार तीन जितपछि अब नेपाल विश्वकप क्वालिफायरमा पुग्नबाट एक जित मात्र टाढा छ । त्यसका लागि नेपालले बिहीबार हुने लिग टू कै अन्तिम खेलमा युएईलाई हराउनुपर्नेछ ।
आजको खेलमा लेग स्पीनर सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै ललित नारायण राजवंशीले ७ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर १ विकेट लिए ।
पीनएनजीका लागि कप्तान असद भालाले भने २० रनको व्यक्तिगत उच्च स्कोर हाँसिल गर्यो । सेस बाउ १८, चार्ल्स अमिनी १६ र हिरी हिरी १४ रन बनाएर आउट भए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।