साझा कथा । पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाएका छन् । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री न्यौपानेले अदालतले तोकेको जरिवाना पनि तिर्न नसक्ने बताएका छन् । उनी पत्रकार सम्मेनलमा रोएका थिए ।
भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट ९ वर्ष ६ महिना कैद सजाय सुनाइएका पूर्वमन्त्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन वाह्य र भित्रि शक्ति मिलेर पूर्वाग्रही फैसला गरिएको जिकिर गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएका कारण एकै व्यक्तिलाई ३ वटा सजायसँगै बिगो २० करोड जरिवाना ९ वर्ष ६ महिना कैदसहित पूर्वाग्रही ढंगले विशेष अदालतले निर्णय गरेको उनको भनाई थियो ।
समाज कल्याण परिषद्ले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भएपनि आफूले फुल बोर्डको बैठक राखेको र मन्त्रिपरिषदमा समेत प्रस्ताव लगेको दाबी गर्दै पूर्वमन्त्री न्यौपानेले भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिएको तर आफूलाई ९ वर्ष ६ महिना कैदको फैसला गर्नु पूर्ण रुपमा पूर्वाग्रही भएको जिकिर गरे ।
पूर्वमन्त्री न्यौपानेले आफ्नो देशभर कतै जग्गा नरहेको र बैंक ब्यालेन्स पनि नरहेकाले आफूले अदालतको जरिवाना तिर्न नसक्ने बताए । आफूमाथि लागेका तीन सजाय निराधार र तथ्यहीनताका साथ लगाइएको उनको कथन थियो ।