साझा कथा । गत बैशाख ९ गते अमेरिका बस्ने आशिष गेलालसँग विवाह गरेकी अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध ९ महिनामै टुङ्गिएको छ । विवाहपछि हनिमुन मनाउन पोखरा पुगेका उनीहरु ४ दिन सँगै बसेका थिए । ४ दिनमै आशिष अमेरिका उडे ।
त्यसको केहि समयपछि अभिनेत्री सिवाकोटी अमेरिका गइन् र त्यहाँ डेढ महिना बसिन् । अमेरिका बसेर फर्कने वित्तिकै बर्षाले आफ्ना पतिसँगका सबै तस्बिर हटाइन् । यसरी हेर्दा उनीहरु जम्मा डेढ महिना सँगै बसे । डेढ महिनामै उनीहरुबीच मनमुटाव भयो । तर विवाह टुंगिन ९ महिना लाग्यो ।
नेपाल आउनसाथ वर्षाले आशिषसँगका सम्पूर्ण तस्विरहरु हटाउँदा र सामाजिक सञ्जालमा दुवैले एकअर्कालाई अनफलो गरेपछि संचारमाध्यममा उनीहरुको सम्बन्धबारे विभिन्न अड्कलबाजी भएको थियो । वर्षाले यसबारेमा कहिल्यै मुख खोलेकी थिइनन् । अन्ततः उनीहरु छुट्टिएका छन् । वर्षासँग विवाह गरेको १० महिनामै आशिषले सोमबार झापाकी एक युवतीसँग दोस्रो बिहे गरेका छन् ।
आशिषले दोस्रो विवाह गर्नुअघि वर्षासँग कानुनी रुपमा सम्बन्धविक्षेद गरेको बताइएको छ । काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा वर्षा र आशिषको धुमधामसँग बिहे भएको थियो । तर, विवाहमा वर्षा निकट फिल्मकर्मीहरु समेत उपस्थित थिएनन् । न त उनीहरुले रिसेप्सन पार्टी नै आयोजना गरेका थिए । आशिषसँग वर्षाको अमेरिका बसाईको क्रममा चिनजान भएको थियो ।
परिवारको तर्फबाट मागेर छिटो विवाह भएकाले एकअर्कालाई राम्ररी बुझ्न नसकिएको र असमझदारीका कारण अलग भएको बर्षाको भनाई छ । उनी चाँडै फिल्म ‘कामिनो’मा काम गर्दैछिन् ।