साझा कथा । नेपालका पहाडी भूभागमा प्रशस्तै गुफाहरु छन् । तर स्थानीयहरुको जानकारीमा नहुँदा ती गुमानाम भइरहेका छन् । कहिले सडक खन्ने क्रममा, कहिले गोठाला जाँदा, कहिले कतै हिँड्दै गर्दा मानिसहरुले गुफा पत्ता लगाउने गरेका छन् । हालैमात्र गुल्मीको हाडहाडेमा पनि गुफा भेटिएको छ । धुर्कोट गाउँपालिका–३, हाडहाडेको बर्दबास धाराखोलामा नयाँ गुफा भेटिएको वडाध्यक्ष पदम विष्टले जानकारी दिएका छन् ।
पचभैयामा ट्रि–हाउस बनाउनका लागि पर्यटन सम्भावनाका विषयमा छलफल हुँदै गर्दा प्वाल भेटिएको विष्टले जानकारी दिए । जानकारी पाएलगत्तै स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा स्थानीयहरु प्वालभित्र पस्दा गुफा भेटिएको हो । गुफाको चौडाइ र उचाइ पाँचदेखि आठ फुटसम्म रहेको बताइएको छ ।
त्यहाँ मान्छे लुक्न मिल्ने जत्तिकै प्वाल भेटिए पनि त्यसलाई साराको दुलो भन्दै सो प्वालमा दुम्सी जाने डरले स्थानीयले ढुङ्गाले छेकेर राखेका थिए ।
गुफालाई पर्यटकीय क्षेत्र बनाई पर्यटन प्रवर्धन गर्ने वडाको योजना रहेको वडाध्यक्ष विष्टको भनाई छ । योसँगै गुल्मीको धुर्कोट गाउँपालिकामा गुफाको सङ्ख्या दुई पुगेको छ । हाडहाडेमा गुफा भेटिएपछि अवलोकन गर्नेहरु दिनप्रति दिन बढ्दै गएका छन् । सदरमुकाम तम्घाससहित विभिन्न ठाउँबाट गुफा अवलोकन गर्न मानिसहरु आउने गरेको जनाइएको छ ।
तस्बिर – रमेश विश्वकर्मा