‘सस्तो’ मनोरञ्जनको चलचित्र ‘छक्का पञ्जा ४’ को कमाई १२ करोडभन्दा बढी

साझा कथा । नेपाली कथानक चलचित्र छक्का पञ्जा – ४ सिनेमा हलहरुमा फागुन १९ गतेदेखि प्रदर्शन भइरहेको छ । घरेलु बक्सअफिसमा चलचित्र ‘छक्का पञ्जा ४ ले १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ ।

यो भन्दा अगाडीका ३ श्रृंखलाको निर्देशन दिपाश्री निरौलाले गर्दै आएकोमा लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले यसपाली निर्देशनको कार्यभार हेमराज बिसीलाई दिएका थिए ।
चलचित्रमा केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, बेनिशा हमाल, रमेश बुढाथोकी, नीर शाह, राज आचार्य, शिशिर बाङ्गदेल, मलिना जोशी लगायतको अभिनय रहेको छ ।

‘तीतो सत्य’ टेलिभिजन शृङ्खलामार्फत समसामयिक विषयवस्तुलाई व्यङ्ग्य गर्ने गरेका लेखक गिरीले त्यही क्रमलाई चौथो छक्का पञ्जाको शृङ्खलामा समेत निरन्तरता दिएका छन् । राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यसमा देखाइएको छ । प्रतिनिधि सभा सदस्य निर्भय सिंह (नीर शाह) को छोरा दिग्विजय सिंह (दीपकराज गिरी) उर्फ ‘राजा’ गुन्डा नाइके मात्र नभई मिटर ब्याजीका रूपले परिचित छन् । एकीकृत निष्पक्ष दलबाट निर्वाचनमा होमिनै लाग्दा निर्भय बिरामी हुन्छन् । बोल्न नसक्ने, शरीर नचल्ने रोग लागेपछि निर्भयले नै निर्वाचनमा पार्टीबाट सहभागी हुने उम्मेदवार आफ्नै छोरा दिग्विजयलाई चुन्छन् ।

पार्टीकै अर्का नेता नरोत्तम (रमेश बुढाथोकी) आशावादी हुन्छन् । निर्भयले छोरालाई रोजेपछि आन्तरिक कलह सुरु हुन्छ । आफ्नै पार्टीका सदस्यको असहयोग भएता पनि दिग्विजयले आफ्नो बाल्यकालको साथी सञ्जेल (केदार घिमिरे) र बुद्धि (बुद्धि तामाङ) को सहायताले चुनाव जित्छन् । युट्युबर एलिशा (बेनिशा हमला) को एक भिडियोले जनतामाझ हिरो हुँदै भाइरल बन्छन् ।

लेखकसमेत रहेका अभिनेता गिरीले आफ्नो पात्रलाई बलियो बनाउँदा अन्यलाई भने निरन्तरता दिन सकेका छैनन् । स्कुलका शिक्षक सञ्जेल र बुद्धिको पात्र राजाकै अनुसार चलिरहेको पाइन्छ । चलचित्रले उनीहरूको आफ्नो कथासँग सम्बन्ध गाँस्न सकेको छैन ।

राजनीति र कर्मचारीतन्त्रलाई व्यङ्ग्य गर्दै राजनीतिमा हुने गुण्डागर्दी, योग्यलाई भन्दा आफ्नालाई टिकट, युवा र पुराना नेतृत्वबीचको लडाइँ, राजनीतिक खिचातानीलगायत विषयलाई चलचित्रमा समेटिएको छ । बढ्दो पपुलिष्ट, युट्युबकारिता, साइबरसेना, विवाहेत्तर सम्बन्धलगायत थुप्रै विषयलाई समेटेको ‘छक्का पञ्जा–४ मूल मुद्दाको गहिराइमा भने पुगेको छैन ।

शृङ्खला थपिँदै जाँदा सामाजिक विषयवस्तुमार्फत दर्शकसम्म पुग्नु अभिनेता गिरीसहित टोलीको प्रशंसनीय कार्य हो । लक्ष्य र द्वन्द्व दुवै नभएपछि दृश्यको थुप्रो मात्र रहेको आभाष दिने उक्त चलचित्रमा अभिनेता गिरीको हिरोगिरीले दीर्घकालीन असर गर्ने सम्भावना बढ्दो छ । कमजोरीका बीच पनि मनोरञ्जनबाहेक केही लिनु छैन भन्ने हो भने यसले मनोरञ्जन पर्याप्त दिन्छ । मनोरञ्जन ‘सस्तो रमाइलो’ बनेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?