साझा कथा । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच प्रतिष्पर्धा हुँदैछ । आजको खेल जित्नैपर्ने दबाबमा रहेको नेपालले टस हारेर बलिङको निम्तो पाएको छ । विश्वकप छनौटको लागि आजको खेल निर्णायक हो ।
त्रिवि मैदान कीर्तिपुरमा अहिले नेपालले बलिङ गरिरहेको छ । नेपालले आज तीव्र गतिका बलर करण केसीलाई आराम दिएको छ । प्रशिक्षक मोन्टी देसाईले करणको स्थानमा गुलशन झालाई मौका दिएका छन् ।
अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपाल यस सिरिजका क्लीन स्वीप गदै आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै स्थान बनाउने लक्ष्यमा छ । यता युएई पनि नेपाललाई हराएर लिगको सुखद अन्त्य गर्ने तयारीमा छ ।
त्रिवि मैदानमा हजारौं दर्शकको साथमा नेपाल विश्वकप छनोट यात्रा स्मरणीय बनाउन चाहन्छ । नेपाली टोलीलाई सर्मथन गर्न हजारौं संख्यामा दर्शक बिहीबार बिहानैदेखि कीर्तिपुरस्थित स्टेडियम पुगेका छन् । नेपाल आज पराजित भएमा यसै महिनाको अन्तिममा नामिबियामा हुने विश्वकप छनोट खेलको क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ ।
लिगमा ३५ खेल खेलेको नेपाल १८ जित र १५ हारसहित ३८ अंकका साथ तालिकाको चौथो स्थानमा छ । सबै खेल सकेको नामिबिया ३९ अंक सहित तेस्रो स्थानमा छ । नेपालले आजको खेल जितेमा नामिबिया चौथो स्थानमा झर्नेछ भने नेपालले शीर्ष तीनमा स्थान बनाउँदै जिम्बावेको यात्रा तय गर्नेछ । युएईसँग बराबरीमा रोकिए पनि नेपाललाई काम छैन ।
३५ खेलबाट ३३ अंक बनाएको युएई छैटौं स्थानमा छ । युएई सोझै छनोटबाट बाहिरि सकेको छ ।