त्यो ४२ औँ ओभर जसले नेपाललाई जिम्बाबे पुर्यायो..

साझा कथा । आईसीसी विश्वकप लिग २ मा ३ वटा सिरिजका खेल भए । दुई वटा सिरिज नेपालमा र एउटा सिरिज युएईमा भयो । १२ वटा खेल भएको तीन वटा सिरिजमा नेपालले ११ मा जित हासिल गर्यो । विश्वकप यात्रा तय गर्नका लागि अन्तिम सिरिजका ४ वटै खेल जित्नुपर्ने बाध्यतामा रहेको नेपालले आखिर जितेरै छाड्यो र सिरिज क्लीन स्वीप गर्यो ।

१२ खेल सुरु हुनुअघि छैटौँ स्थानमा रहेको नेपाल सिरिज अन्त्यसँगै तेस्रो स्थानमा उक्लियो । यो सँगै लिग २ को शीर्ष तीनमा पर्दै नेपालले विश्वकप छनौटमा स्थान बनायो । यो स्थान बनाउन नेपालमा चैत्र २ गते भएको यूएईसँगको खेल ऐतिहासिक साबित भयो । यो खेललाई सनसनीपूर्ण बनाउन र नेपालले जित हासिल गर्न खेलको ४२ औँ ओभर निर्णायक बन्यो ।

लिग २ को अन्तिम खेलले नेपालको विश्वकप यात्राको ढोका खोल्दै थियो । त्यहि अन्तिम खेलमा यूएईले विशाल लक्ष्य दियो र नेपालसामू ठूलो दबाब आइलाग्यो । ३११ रनको लक्ष्य पछ्याउँदै नेपाल ब्याटिङमा उत्रिएको मात्र के थियो, दोस्रो बलमै आसिफ शेख आउट भए र केही समयको अन्तरालमै ३ जना बाहिरिए । ठूलो रनको लक्ष्य र तीन महत्वपूर्ण विकेट झरेपछि नेपालको आशा समाप्त हुने दिशामा थियो । तर कुशल भुर्तेल र भीम सार्कीले पारी सम्हालेपछि आशा पलायो । भुर्तेल आउट भएपछि आएका गुल्सन झाले कमाल गरे । ४८ बलमा ५० रन जोडेर गुलसनले नेपालले जित्न सक्ने सम्भावना बढाए । तर ४४ ओभर सकिने वित्तिकै अम्पाएरले खेल रोके । अनि डकवर्थ लुईसका आधारमा नेपालले खेल जितिछाड्यो ।

४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएको नेपाललाई अझै ४२ रन बनाउनुपर्ने थियो । त्यसका लागि नेपालको हातमा ३६ बल र ४ विकेट बाँकी थियो । तर पनि खेल नेपालको पक्षमा आयो । यसको लागि खेलको ४२ औँ ओभर र गुलसन झाको चमत्कार नै प्रधान कारण थियो । प्रशिक्षक मोन्टी देशाईले नाम चलेका बलर करण केसीलाई बेन्चमा राखेर गुलसनलाई मैदान उतारेका थिए । तिनै गुलसनले ४२ औँ ओभरमा गुल्जार बनाए त्रिवि क्रिकेट मैदान र गुञ्जयमान भयो माहौल । ४१ ओभर सकिँदासम्म नेपालको २३५ रन मात्रै थियो । यहिँनेर खेल रोकिएको भए डकवर्थ लुइस प्रणालीका आधारमा नेपालले हार्नुपर्ने थियो । अथवा ४२ औँ ओभरमा पनि ४१ र्औँ ओभरमा जस्तै रन आएको भए पनि नेपालले हार्नुपर्ने थियो । तर ४२ औँ ओभर र गुलसन झाको व्याटिङले नेपालको भविष्य बदलियो ।

४२ ओभरको पहिलो बलमा कुनै रन लिन नसकेका गुलसनले दोस्रो बलमा २ रन ल्याए । तेस्रो बलमा छक्का हानेका गुलसनले बाँकी तीन बलमा लगातार चौका प्रहार गरे । यही ओभरको २० रनले डकवर्थ लुईस प्रणालीमा हुने हिसाबकिताब नेपालको पक्षमा पार्यो र विश्वकप यात्राको बाटो तय गर्यो ।

सायद गुलसन झाको ठाउँमा करण केसी नै भएको भए वा त्यो ४२ औँ ओभरमा २० रन नआइदिएको भए नेपाल निराश हुनुपर्ने थियो । किनभने बलिङमा राम्रो प्रदर्शन गर्ने करण केसी व्याटिङमा उतिसारो जम्दैनन् ।

डकवर्थ लुईस प्रणाली अनुसार ४४ ओभरमा खेल रोक्दा यूएईको ३१० रनको हिसाब गरेर नयाँ लक्ष्य दिइन्छ । जसअनुसार नेपाललाई नयाँ लक्ष्य २६० रन हुन आउँछ । त्यसैले त्यति बेलासम्म २६९ रन बनाइसकेको नेपाल ९ रनले विजयी भयो । टी–२० र एकदिवसीय खेलमा यो नियम लागू गरेर खेलको नतिजा दिइन्छ । तर दोस्रो टिमले ब्याटिङ गर्दा न्यूनतम ओभर ब्याटिङ गरेको हुनुपर्छ । एकदिवसीय खेलमा २० ओभर र टी–२० मा ५ ओभर ब्याटिङ गरेपछि मात्र डिएलएस लागू हुन्छ ।

यो सफलताको लागि धन्यवादका पात्र हुन् प्रशिक्षक मोन्टी देशाई जसले करण केसीको ठाउँमा गुलसन झालाई स्थान दिए र मैदान उतारे । अझ धन्यवादका पात्र हुन् गुलसन झा जसले सम्हालिएर विग्रिएको नेपालको अवस्था सुधारे र ४२ औँ ओभरमा चमत्कार देखाए । गुलसन झा भर्खरै १८ बर्ष पुगेका छन् । देब्रे हातले व्याटिङ गर्ने उनले खेलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै नेपालको लागि लक्की ओभर हो ४२ औँ ओभर, जहाँ नेपालले २० रन प्राप्त गर्यो र रनरेट बढ्यो । हजारौँ दर्शक जसले यूएईका खेलाडीलाई हतोत्साही गराउन ठूलो मद्दत गरे, उनीहरु झन् धेरै बधाईका भागीदार हुन् ।

अब नेपालले आगामी जुन जुलाईमा जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्ने छ, जहाँ उसले दक्षिण अफ्रिका, वेष्ट इन्डिज, आयरल्याण्ड, श्रीलंका जस्ता राष्ट्रहरुसँग खेल्ने मौका पाउनेछ । भारत, पाकिस्तान, अफगानिस्तान जस्ता राष्ट्रहरु विश्वकप छनौटमा यसअघि नै परिसकेका छन् ।

विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिनेछ । पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टिम पुग्नेछन् । सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन् । त्यस खेलबाट शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेट खेल्न जानेछन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?