जहाँ गर्लफ्रेन्ड घरमा लैजाँदा इज्जत बढ्छ…

साझा कथा । नेपालमा केटी साथी अर्थात गर्लफ्रेन्ड हुनु त्यति महत्वको विषय होइन । तर केटी साथी सार्वजनिक गर्न अप्ठेरो मान्नुपर्ने समाज छ । अझ गलफ्रेन्डलाई घरमै लगेर बुबाआमासँग भेटाउन त धेरै पटक सोँच्नुपर्ने हुन्छ । अधिकाँश घरमा गर्लफ्रेन्ड लैजानु लज्जाको विषय हो । बुबाआमाको लागि हिनता र इज्जत घट्ने सवाल हो । अझ भाडामा गर्लफ्रेन्ड बनाउने कुरा त कल्पना भन्दा बाहिरको कुरा छ नेपालमा । तर चीनमा यो सबै काम गर्दा इज्जत बढ्ने सवाल छ ।

उमेर पुगेर पनि विवाह नगर्ने र परिवार तथा आफन्तबाट विवाहका लागि दबाब आउने समस्या नेपालको सामान्य समस्या हो । उत्तरी छिमेकी चीनमा पनि युवाहरूले पनि विवाह नहुँदा दबाबको सामना गर्नुपरिरहेको छ । साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार परिवारका सदस्यका दबाब झेल्न र विवाहबारे जवाफ दिन अहिले चीनमा भाडामा गर्लफ्रेन्ड हुने र बनाउने व्यवसाय फस्टाउँदो छ ।

चिनियाँ युवाहरूले विदाका बेला परिवारलाई भेट्न जाँदा गर्लफ्रेन्ड पनि सँगै लिएर गएपछि धेरै प्रश्न झेल्नु पर्दैन भनेर यस्तो उपाय लगाएका हुन् । यसरी भाडामा गर्लफ्रेन्ड बन्नेहरूले परिवार र आफन्तलाई झुक्याउन नक्कली विवाह पनि गरिदिने गरेको खुलेको छ । ग्रामीण क्षेत्रमा बस्ने एकल पुरूषहरूले आफ्नी पनि प्रेमिका छिन् भन्ने देखाउन भाडाकी गर्लफ्रेन्डलाई बोलाउने गरेका छन् ।

चीनमा पछिल्लो समय उमेर पुगेका युवाहरू विवाह नगरी बस्ने प्रवृत्ति व्यापक बनेको छ । एकातिर युवायुवतीहरू स्वेच्छाले विवाह नै नगरी बसिरहेका छन् भने अर्कातिर कतिपय पुरूषले विवाह गर्छु भन्दा विवाह गर्ने महिला पाउन मुस्किल छ । चीनमा लागु भएको एक सन्तान नीतिले अहिले चीनमा पुरूषभन्दा महिलाको संख्या कम छ ।

विवाह गर्न चाहँदा केटी नै नपाइने र गर्लफ्रेन्ड छ भन्ने कुराले परिवारका सदस्यका प्रश्नबाट मुक्तिसँगै सामाजिक रूपमा इज्जत बढ्ने भएपछि भाडामा गर्लफ्रेन्ड बनाउने चलन बढ्दै गएको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?