साझा कथा । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्ग अहिले लोप हुने अवस्थामा जाँदैछ । सरकारको अस्पष्ट नीतिका कारण पदमार्ग मासेर मोटरबाटो निर्माणको कामलाई तीव्रता दिएपछि यस क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकहरु घट्दै गएका हुन् ।
हरियाली जङ्गलबीच चराचुरुङ्गीको चिरबिरसँगै गोरेटो बाटो पछ्याउँदै गरिने पदयात्राको रोमाञ्चकता अचेल धेरै नै कम हुन थालेको छ । पिढ्यूँमा झोला बोकी लौरीको साहरामा उकालो/ओरालो गर्नेहरुको सङ्ख्या पनि पातलिँदै जान थालेको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने प्रायः सबै भित्री गाउँमा सडक सञ्जाल पुगिसकेको छ । जसले सवारी साधनको सङ्ख्या र मानिसको कोलाहल बढाएको छ । पदमार्ग मासेर बिस्तार गरिएका सडक सञ्जालले पदमार्गमा हिँड्नेहरु यतिबेला मास्क लगाएर पदयात्रा गर्न बाध्य छन् ।
लमजुङबाट मनाङसम्म र म्याग्दीबाट मुक्तिनाथसम्म मोटर बाटो बनेपछि पदमार्गको अस्तित्व सङ्कटमा पर्नुका साथै यस क्षेत्रको सौन्दर्य पनि हराउँदै गएको पर्यटकहरुले गुनासो गर्ने गरेका छन् । पदयात्रा व्यवसायीको सङ्गठन टान पश्चिमाञ्चलका पूर्वअध्यक्ष दीपकराज अधिकारी पैदलमार्गका सिँढी डोजरले भत्काएर मोटर बाटो निर्माण हुन थालेपछि अन्नपूर्ण क्षेत्रको पदयात्रा पर्यटन नै सङ्कटमा परेको बताउँछन् ।
उत्तरी म्याग्दीका घोडेपानी, पुनहिल, नागी, खोपा, मुस्ताङको जोमसोम, उपल्लो मुस्ताङ, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक-घोडेपानी लगायतका लामो र छोटोदूरीका पदमार्ग ‘मोटर बाटोले ध्वस्त’ पारिसकेको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनको भनाइ छ । उनका अनुसार बनेका बाटोसमेत राम्रा नहुँदा धुलो र ध्वनि प्रदूषणले पदयात्रीको सङ्ख्या दिनानुदिन घटिरहेको छ ।
नेपालको पर्यटनको एउटा प्रमुख आकर्षण मानिएको पदमार्गमा जथाभावी बनेका सडकले ती मार्गको आकर्षण तथा गुणस्तर घटाइरहेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । जथाभावी बनेका सडकका कारण पर्यटकले त्यस मार्गमा बिताउने समय घटाउनुका साथै त्यहाँ दोहो¥याएर आउन वा उनीहरूले अन्यलाई सुझाउन समेत कम हुन थालेको होटल व्यवसायी सुवर्ण केसीको भनाइ छ ।
पदमार्ग मिचिएका ठाउँमा वैकल्पिक रूटहरू बनाउने काम समेत नहुँदा विस्तारै त्यस्ता मार्ग हराउन थालेका छन् । जसका कारण पदयात्री पर्यटकहरूको बसाई ८० प्रतिशतसम्मले कम भएको देखिन्छ ।