साझा कथा । केन्द्र सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको गठबन्धन तोडेर काँग्रेससँग सहकार्य अगाडि बढाएपछि प्रदेशहरुमा पनि सरकार अदलबदल हुने सम्भावना छ । केन्द्रमा सरकारले दोस्रो पटक विश्वासको मत लिनुपरेपछि प्रदेशहरुमा पनि विश्वासको मत लिइँदै छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनले बनाएको नयाँ सत्ता समीकरण प्रदेशहरूमा पनि विकसित हुने क्रममा छ।
सुदुरपश्चिम प्रदेश बाहेकका प्रदेशमा पुनः विश्वासको मत लिने प्रक्रिया आरम्भ हुँदैछ । खासगरी माओवादी केन्द्र र नेकपा एमाले सम्मिलित सरकारहरु भएको ठाउँमा पुनः विश्वासको मत लिएर समीकरण बदलिँदैछ । नेकपा एमाले र राप्रपा केन्द्र सरकारबाट बाहिरिएपछि र प्रदेशहरुमा राप्रपाले साथ छोडेपछि पुनः विश्वासको मत लिने वातावरण तयार भएको हो ।
आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन् । प्रदेश सचिव कृष्णहरि खड्काका अनुसार आज अपराह्न ३ बजे प्रदेश सभा बैठक बस्दैछ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।
नेकपा माओवादी संसदीय दल नेता जम्कट्टेल गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भई माघ ३ मा विश्वासको मतसमेत लिएका थिए । उनलाई त्यसबेला नेपाली कांग्रेसहित ६ दलहरूका १०५ जना सांसदहरूले विश्वासको मत दिएका थिए । आज नेकपा एमाले र राप्रपा बाहेकले उनलाई विश्वासको मत दिने सम्भावना छ ।
बागमती प्रदेश सभामा ११० जना सांसद छन् । मुख्यमन्त्रीलाई बहुमतका लागि ५६ जना सांसदको साथ चाहिन्छ । प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।