अमेरिका गहिरो आर्थिक संकटतर्फ धलेलिँदै, बैँकमा ताला लाग्ने खतरा

साझा कथा । विश्वको सबैभन्दा ठूलो र बलियो अर्थतन्त्र मानिने अमेरिकाका दुई ठूला बैँक सिलिकन भ्याली बैँक र सिग्नेचर बैँक टाट पल्टिँदा त्यहाँको आर्थिक अवस्थाबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । अन्य बैँकहरु समेत संकटग्रस्त भइरहेको बेला अमेरिकी केन्द्रीय बैँक तथा बैँकहरुलाई नियमन गर्ने निकाय फेडरल रिजर्भले बुधबार राति फेरि ब्याज दर बढायो जसका कारण अमेरिकी अर्थतन्त्र गहिरो संकटमा जाँदै गरेको विश्लेषण भइरहेको छ ।

अमेरिकी फेडरल रिजर्भले संकटसँग संघर्ष गरिरहेका बैंकहरूलाई फेडको दर २५ आधार बिन्दुले बढाएर झटका दिएको छ । फेडको यो घोषणापछि अब ब्याजदर ४.७५ प्रतिशतबाट बढेर ५ प्रतिशत पुगेको छ । केन्द्रीय बैँकको यो निर्णयले अमेरिकाका सयौँ बैँकहरु झन् ठूलो समस्यामा फसेका छन् । बैंकिङ संकट भए पनि राहत दिनुको साटो ब्याजदर बढाउने घोषणाले समस्या बढाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यो बर्ष अर्कोपटक ब्याजदर बढ्नसक्ने सम्भावना नकार्न नसकिने उनीहरुको दाबी छ ।

फेडरल रिजर्भको यो निर्णयसँगै अमेरिकी बैंकिङ क्षेत्र निराश भएको छ । फेडरल रिजर्भले भने मुद्रास्फीति नियन्त्रण गर्न यस्तो निर्णय गर्नुपरेको जनाएको छ । मार्च २०२२ देखि, फेडरलले निरन्तर ब्याज बढाइरहेको रिजर्भका कारण अन्य बैंकहरुले ऋण लगानीमा घाटा बेहोर्नु परिरहेको छ ।

अमेरिकाका दर्जनौँ बैंकहरू अहिले डुब्ने अवस्थामा पुगेका छन् । सोशल साइन्स रिसर्च नेटवर्क स्टडीले मनिडरी टाइटनिंग एण्ड यूएस बैंक फ्रेजिलिटी इन २०२३ को आफ्नो रिपोर्टमा अमेरिकाका १८६ बैंक डूब्ने खतरामा रहेको उल्लेख गरेको छ । ग्राहकको भरोसामा चलिरहेका यी बैंकहरू फेडरलले ब्याज वृद्धि गरेपछि प्रभावित हुनेछन् । बैंकका ग्राहकले खाताबाट रकम झिक्न थालेमा यी बैंकहरु तालाबन्दी हुने निश्चित छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?