साझा कथा । इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व रमजान शुक्रबारबाट सुरु भएको छ । रमजान पर्वमा मुस्लिम समुदायका मानिसहरू एक महिनाभर बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई रोजा बस्छन्।
रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।
रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गरिन्छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।
दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान समुदायले रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।
रमजान कसरी मनाइन्छ ? यसका रोचक नियमहरु
रमजान महिना मुसलमानका लागि शुभ–लाभको महिना हो । रमजान महिनालाई कुरानले धेरै ठुलो स्थान दिएको छ । एक महिनासम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा (उपवास) बस्नुपर्ने हुन्छ । मुसलमानहरूको पाँच महत्त्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियमानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्त्वपूर्ण महिनाका रूपमा लिने गरेका छन् ।
घाम उदाउनुभन्दा डेढ घण्टा अगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने समय भनिन्छ । दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानहरूले आ–आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन, जानेर थुक पनि निल्नु हुँदैन भने दिउँसो सबै मानिसले दतिवन गरी मुख धुनु पर्छ । दिनभर केही पनि खान नहुने भएकाले ठुला मानिसहरूले सजिलै रोजा पूरा गरे पनि उमेर नपुगेकाले धेरै कठिनाइ भोग्नु पर्ने हुन्छ । जसले जति कठिनाइ महसुस गर्छ, त्यसले त्यति सवाव (धर्म) पाउँछ भनेर ठुला मानिसहरूले बालबालिकालाई रोजा बस्न प्रेरित गर्छन् । शरीर र मन दुवै शुद्ध रहनु पर्ने रोजामा महिलाहरूको महिनावारी सुरु भएमा त्यो महिलाको रोजा हुँदैन र महिनावारी रोकिएपछि पुनः रोजा बस्नु पर्ने हुन्छ । रोजाको समयमा श्रीमान् र श्रीमतीबिच शारीरिक सम्पर्क गर्न हुँदैन भन्ने मान्यता छ ।
मुसलमानहरूले रोजा अवधिभर नियमित नमाज पढ्छन् भने रातीको नमाजपछि कतिपय मस्जिदमा तरावी नमाज पढ्ने गर्छन् । तरावी नमाज मुसलमानहरूको विशेष प्रार्थना हो । यो दुई किसिमको हुन्छ, तरावी र खत्तम तरावी । यी दुवै नमाज २० रिकातको हुन्छ, जसमा इस्लामी ग्रन्थ कुरानको अक्षरशः पढ्नुपर्छ । खत्तम तरावी कुरानका पुरै हरफहरू कण्ठस्थ पारेर पढ्नु पर्छ । तरावी कुरान कण्ठस्थ भएका मौलाना वा हाफिज दुवैले पढाउन पाउँछन् । आर्थिक रूपमा सम्पन्न मुसलमानले रोजाको समयमा गरिब, दीन दुखीहरूलाई दान गर्नु पर्छ । दान धार्मिक नियमानुसार गर्नु पर्ने हुन्छ, यसमा कसैले कम, कसैले बढी भने हुँदैन । रोजाको समयमा मुसलमानहरूले आफ्नो सम्पत्तिको अढाई प्रतिशत जकात ९कर० निकाल्नु पर्छ ।
यस अतिरिक्त रोजाको अवधि पूरा गरिसकेपछि इदूको नमाज पढ्नुभन्दा पहिले जनही एक किलो ७ सय ५० ग्राम गहुँको दाम निकाल्नुपर्छ, जसलाई फित्तरा भनिन्छ । यो नियम संसारभरिका मुसलमानमा लागू हुन्छ । यसरी निकालिएको रकम गरिब दीन दुःखीहरूलाई बाँड्नुका साथै फित्तरा र जकात मुसलमानहरूको पाठशाला ९मदरसा० सञ्चालनमा प्रयोग गरिन्छ । तीस दिनको रोजा पूरा गरेपछि पुरुषहरू इदगाहमा र महिलाहरू एकान्त ठाउँमा गएर सामूहिक रूपमा नमाज पढ्ने गर्छन् र अन्त्यमा एक आपसमा अँगालो मारेर इदमुवारक भन्दै बधाई साटासाट गर्छन्। नमाजको समयमा शरीरसँगै लुगाफाटो पनि शुद्ध राख्नु पर्ने कडा धार्मिक नियम छ ।