साझा कथा । एक बर्षअघि गरिएको जनगणनाको औपचारिक प्रतिवेदन सार्वजनिक भएको छ । २०७८ को मंसिरमा गरिएको जनगणनाको समग्र विश्लेषण गरिएको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । प्रतिवेदन अनुसार नेपालमा अहिले २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्या रहेको छ । यस्तै नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्याङ्क विभागले जनाएको छ ।
२०६८ सालको जनगणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो । जसमा पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो । तथ्याङ्क उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत कम रहेको जानकारी दिए ।
रेग्मीका अनुसार नेपालमा २१ लाख ९० हजारभन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् । उनले १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा बसोवास गर्ने गरेको जानकारी दिए । यो सङ्ख्या २०६८ को राष्ट्रिय जनगणनाभन्दा दुई लाख ६९ हजार ९८ जनाले बढी हो ।
उपप्रमुख रेग्मीले जनगणनामा सधैँका लागि देश छोडेर गएका व्यक्तिहरुको गणना नगरिएको उल्लेख गरे । त्यस्तै, परिवारका सबै सदस्य विदेशमा रहेकाहरुको पनि गणना गरिएको छैन । रेग्मीले उमेर समूहअनुसार १५ देखि १९ वर्षको उमेर समूहमा कुल जनसङ्ख्याको सबैभन्दा बढी प्रतिशत रहेको जानकारी दिए । २०६८ सालको जनगणनामा भने १० देखि १४ वर्षको बीचको उमेर समूहका व्यक्तिहरु धेरै थिए ।