साझा कथा । गर्मी मौसम सुरु हुन थालेपछि मुलुकमा आगलागी, डढेलो र हावाहुरीको जोखिम बढ्न थालेको छ । भौगोलिक हिसाबले विभिन्न प्रकोपको उच्च जोखिममा रहेको नेपाल हरेक मौसमसँगै पूर्वतयारीमा जुट्ने पर्ने अवस्थामा छ । भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ ।
पछिल्लो साता मुलुकभर वर्षा भएकाले आगलागीका घटना सुनिएको छैन तर अब वर्षा रोकिनेबित्तिकै आगलागी ह्वात्तै बढ्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो समयमा सबैभन्दा बढी आगलागी र डढेलोले क्षति पुर्याउने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल पछिल्लो एक दशकको तथ्याङ्क हेर्ने हो भने आगलागीको दर बढ्दै गएको र त्यसले पुर्याउने क्षतिसमेत बढिरहेको बताउँछन् । प्राधिकरणका अनुसार यहि साताको बुधबार मात्रै १८ विपद्जन्य घटना भएका थिए । त्यसमध्ये १६ घटना आगालगी, हावाहुरी चट्याङ र डढेलोका छन् । गत वैशाखदेखि चार हजार ४८ वटा विपद्जन्य घटना भएकामध्ये सबैभन्दा बढी दुई हजार छ सय १३ घटना आगालागीका छन् । उक्त आगलागीमा परेर एक सय दुई जनाको मृत्यु भएको छ भने तीन सय ५२ जना घाइते भएको तथ्याङ्क प्राधिकरणसँग छ ।
आगलागीबाट मानवीय क्षतिका साथै भौतिक क्षति पनि ठूलोमात्रामा हुने गरेको छ । प्राधिकरणका आगलागीविज्ञ सुन्दर शर्माले नेपालमा आगलागीको दर अत्यधिक रहेकोले सबैले पूर्वतयारी गर्ने र सावधानी अपनाउनुपर्ने उल्लेख गरे ।