Ad Banner

बीमा कम्पनीले अब विदेशमा पनि शाखा खोल्न पाउने

अब बीमा कम्पनीहरुले विदेशमा पनि शाखा खोल्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले ‘बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै नेपाली बीमकले विदेशमा शाखा विस्तार गर्ने बाटो खुलेको हो ।

बीमा प्राधिकरणले जारी गरेको उक्त निर्देशिकाको दफा ११ मा ‘बीमकले प्राधिकरणको पूर्वसहमति लिई विदेशमा आफ्नो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न सक्ने’ भनिएको छ । प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमा कम्पनीहरुले स्वीकृति लिएर अन्य मुलुकमा पनि आफ्नो कार्यालय खोली व्यवासाय विस्तार गर्न पाउने छन् ।

विदेशमा आफ्नो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न बीमकले प्राधिकरणको साथै जुन मुलुकमा त्यस्तो कार्यालय स्थापना गरिने हो सो मुलुकको नियामक निकायले निर्धारण गरेको पूँजी कायम गर्नु पर्नेछ । त्यसका साथै बीमक तथा बीमकका सञ्चालकलाई कुनै कारबाही भएको भए त्यस्तो कारबाही भएको ६ महिना पूरा भइसकेपछि मात्र विदेशमा कार्यालय खोल्न पाइनेछ ।

यस्तै प्राधिकरणबाट बीमकले अन्तिम स्वीकृति प्राप्त गरेको ६ महीनाभित्र कार्यालय खोली सोको जानकारी प्राधिकरणलाई गराउनु पर्नेछ । उक्त अवधिभित्र कार्यालय सञ्चालन नभए स्वीकृति स्वतः रद्द हुनेछ ।

यो प्रावधानसँगै भविष्यमा विदेशमा सञ्चालन हुने नेपाली बीमकहरूको व्यवसाय विदेशी मुद्रा आर्जनको राम्रो स्रोत बन्न सक्छ ।

यो पढ्नु भयो ?