साझा कथा । लुम्बिनी प्रदेश सरकार सरकार अल्पमतमा परेको छ । लुम्बिनी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । माओवादी केन्द्रबाट सरकारमा सहभागी तीनजना मन्त्रीले आज (आइतबार) मुख्यमन्त्री लीला गिरी समक्ष सामूहिक राजीनामा दिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।
“सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसहित नयाँ सरकार गठनका दाबीका लागि बहुमतसहितको प्रदेश प्रमुखको कार्यालयमा जाँदैछौँ”, उनले भने । माओवादीको समर्थन फिर्तासँगै अब सरकारले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने छ । विश्वासको मत लिनुभन्दा मुख्यमन्त्री लिला गिरिले राजीनामा दिने सम्भावना रहेको एमालेका नेताहरुले बताएका छन् ।
साथै जनमत पार्टीबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले पनि राजीनामा दिएका छन् । उनले आफूले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएको र नयाँ बन्ने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जानकारी दिए ।
लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वमा सरकारमा गत पुस २८ मा माओवादी केन्द्रका तर्फबाट कृष्णा केसी विना विभागीय मन्त्रीको रुपमा सहभागी भएकी थिइन् । त्यसको करिब एक महिनापछि मुख्यमन्त्री गिरीले माओवादी केन्द्रका संसदीय दलका नेता जोगबहादुर महरालाई आर्थिक मामिलामन्त्री र ईन्द्रजित थारुलाई भौतिक पूर्वाधार विकास मन्त्री र कृष्णा केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारीसहित नौ सदस्य मन्त्रीमण्डल विस्तार गरेका थिए ।