साझा कथा । कुनै समयको प्रख्यात स्थान बन्दीपुर, कोरोनाको महामारीसँगै सुस्ताएको थियो । ३ बर्षजति सुनसान देखिएको बन्दीपुर पछिल्लो समय बौरिन थालेको छ । पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको होटल व्वसायले पनि गति समात्न थालेको छ ।
बन्दीपुरका होटल व्यवसायी सूर्य ढकाल भन्छन्, “बन्दजस्तै भएको व्यवसाय अहिले केही मात्रामा चलायमान भएको छ ।” सर्वजानिक बिदा र शनिबारको दिनमा बन्दीपुरमा आन्तरिक पर्यटकको आवतजावत निक्कै बढ्न थालेको उनको भनाई छ ।
बन्दीपुरमा निर्माणाधीन केहि कामहरु र पूर्वाधारमा सहज व्यवस्थापन नहुँदा पनि केही असर गरिरहेको हो । बन्दीपुरका पर्यटन व्यवसायी काशीनाथ गुरुङ भन्छन्, “पहिले–पहिले पर्यटक धेरै आउँथे, फुर्सद नै थिएन । तर बीचमा शून्यजस्तै भयो । अहिले पनि आउनुपर्ने जति आएका छैनन्” । राजमार्ग विस्तार गर्ने क्रममा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले सडकमार्गको यात्रामा समस्या हुँदा पर्यटक घटेको अनुभव बन्दीपुरका व्यवसायीको छ ।
सहज यात्रा चाहने पर्यटक हवाईमार्फत सिधा पोखरा जाने गर्दा बन्दीपुर आउने विदेशी पर्यटक घटेको हो । अहिले विदेशी पर्यटक ‘प्याकेज’मा मात्रै आउने गरेको बन्दीपुर पर्यटन बोर्डका अध्यक्ष किसान प्रधान बताउँछन् ।
बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । बन्दीपुरको हावापानी, रहनसहन, रितिरिवाज र पुराना मौलिक घरहरु देखेर विदेशी पर्यटक आकर्षित हुने गरेका छन् ।
गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन मिनी ग्रेटवाल निर्माण गरिरहेको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिन्छ । विगत दुई वर्षदेखि निर्माण सुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको हो । बन्दीपुर घुम्न आएका अधिकांश पर्यटक उक्त ठाउँका बारेमा चासो लिने गरेका छन् । बन्दीपुरमा अझै पर्यटक वृद्धिका लागि संरचना निर्माणलाई गाउँपालिकाले विशेष प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताएका छन् ।