किन चाहियो स्ववियू ? काम छैन स्ववियु.. (भिडियो)

Featured Video Play Icon

स्ववियू अर्थात स्वतन्त्र विद्यार्थी यूनियन । विद्यार्थीहरुको हक हित संरक्षण, क्याम्पसमा शैक्षिक उन्नयन, विद्यार्थीहरुबीच एकताको भावना विकास र स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न स्थापना गरिएको संगठन । स्थापनाकालमा स्ववियूले यिनै काम गथ्र्यो । तर कथा बदलिएको छ ।

  • स्ववियूले खासमा अहिले के के काम गर्छ, त्यो हेरौँ है त..
  • क्याम्पसमा प्राध्यापक र कर्मचारीहरुको नियुक्ति हुँदा आफ्नो पार्टीको मान्छे पर्यो कि परेन भनेर हेर्छ ।
  •  क्याम्पसमा परीक्षा चल्दै गर्दा कुनै व्यक्तिलाई चिट चोराएर पास गराउन मद्दत गर्छ ।
  •  क्याम्पसमा हुने ठेक्कापट्टामा कमिसनको बार्गेनिङ गर्छ । ठेक्का कसले पाउने र नपाउने भन्ने विषयमा दबाब र प्रभाव बढाउँछ ।
  •  भर्ना शुल्क र मासिक शुल्क वृद्धिमा प्रशासनसँग मिलेमतो गर्छ ।
  •  क्याम्पस प्रमुखलाई कति समय क्याम्पसमा रहन दिने ? त्यसको लागि पक्ष वा विपक्षमा माहौल तयार पार्छ ।
  •  विद्यार्थीहरुबीच विभेद गर्ने, हुलहुज्जत गर्ने र आपसमा घृणाको भावना विकास गर्न मद्दत गर्छ ।

यी कुनै पनि कामका लागि स्ववियू गठन गरिएको थिएन । २०३५ सालमा पहिलोपटक स्ववियू चुनाव भएको थियो । तर संगठन खोल्ने अधिकार भने २०२० मै प्राप्त भएको थियो । त्यो समय राजनैतिक चेतना विस्तार र अधिकारका लागि स्ववियू ठिकै थियो । तर अहिले संगठनहरुले पाखुरा देखाउने थलो बनेको छ स्ववियू । क्याम्पसमा हुने राजनीतिक गतिविधिले हाम्रो शैक्षिक गुणस्तर विग्रिएको छ । राजनैतिक दलको हैसियत नाप्ने थलो बनेको स्ववियूका कारण विद्यार्थीहरुलाई सहज हैन, झन् अप्ठेरो परिरहेको छ । यसले शैक्षिक मुद्दा र आयामहरु कमजोर बनाएको छ । स्ववियू निर्वाचनलाई राजनीतिक पार्टीको इज्जतसँग जोडेर हेर्न थालिएकै कारण स्ववियू चुनावमा झैझगडा र काटाकाट हुन्छ ।

क्याम्पसमा बौद्धिक र चारित्रिक विकासका कार्यक्रम बनाउन दवाव दिनुपर्ने स्ववियू चरित्रहीनता वृद्धि गर्ने कारक बनिरहेको छ । विद्यार्थीको रचनात्मक क्षमता वृद्धि गर्न सघाउनुपर्ने स्ववियू विद्यार्थीहरुको विवेकलाई बन्धक बनाउन कारक बनिरहेको छ । असल र सक्षम नेतृत्व विकास गर्दै विद्यार्थीको आवाजलाई बलियो बनाउनुपर्ने स्ववियू गुण्डागर्दी र कमिसनको चक्करमा रमाउने नेतृत्व उत्पादन गर्न कारक बनिरहेको छ । विद्यार्थी एकताको जग बसाउने थलो बन्नुपर्ने स्ववियू विद्यार्थीहरुबीच विग्रह ल्याउन कारक बनिरहेको छ ।

विद्यार्थीको आवश्यकता, चाहना र भावनासँग नजोडिएको स्ववियुको कुनै औचित्य हुँदैन । शिक्षा नीति बरालिएको र गतिछाडा भइरहेको नेपालमा सरकार र मातहतका निकाय पनि दिशाहीन छन् । त्यसरी नै विद्यार्थी संगठन पनि गन्तव्यहीन देखिन्छन् । यस्तो अवस्थामा स्ववियू निर्वाचन गरेर खर्च बढाउनुको अर्थ के छ र ? विद्यार्थीहरुको टाउको फुटाउन, विद्यार्थीको समस्या सुल्झाउन भन्दा झन् बल्झाउन कारक बनिरहेको स्ववियू खारेज गर्दा कसैको केहि विग्रदैन ? त्यसैले किन चाहियो स्ववियू ?

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?