साझा कथा । प्राचीन हिन्दु ग्रन्थ अनुसार भारतीय उपमहाद्वीपमा थुप्रै भूभागहरु थिए । तर ग्रन्धहरुमा आर्यावर्त, ब्रम्हवर्त, मध्यदेश, पाञ्चालका विषयमा वर्णन गरिएको भेटिएपनि अन्य भूभागका विषयमा ठोस तथ्य लेखिएको पाइँदैन । त्यसमध्ये सबैभन्दा बढी चर्चा र उल्लेख गरिएको स्थान हो आर्यावर्त अर्थात हिन्दुहरुको भूमि ।
आर्यावर्तमा मगध हालको (पटना) एक शक्तिशाली राज्य थियो । सुरुवातमा त्यहाँ जरासन्ध भन्ने राजाले राज्य गर्दथे । उनैको बंशका ऐयासी महापद्मानन्द राजा हुँदा उनी सुरा सुन्दरीको कुलतमा फसेका थिए । युनानी राजा सिकन्दरले भारत वर्षमा आँखा लगाएकाले भारत वर्ष कसैको अधिनमा बस्नु नपरोस् भनी राज्य सल्लाहकार चणकले राजालाई केही सुझाव दिएका थिए तर उनको सल्लाह सुन्नुको साटो चणकलाई नै मृत्युदण्ड दिइयो।
तिनै राष्ट्रभक्त ब्राम्हण चणकका सुपुत्र हुन् आचार्य चाणक्य । राष्ट्रभक्ति, सत्य, न्याय, कुटनीति, प्रशासन साथै राजनीनिशास्त्रका विशिष्ट योगफल हुन् आचार्य चाणक्य । यिनलाई विष्णुगुप्त वा कौटिल्य पनि भन्ने गरिन्छ । चाणक्य यस्ता महान विभूति थिए, जसले आफ्नो विद्धता, बुद्धिमता र क्षमताको बलमा प्रभाव कायम गरेका थिए । चाणक्य वा कौटिल्य (लगभग इसा पूर्व ३७०–२८३) तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए।
मौर्य साम्राज्यका संस्थापक चाणक्य कुशल राजनीतिज्ञ, चतुर कुटनीतिज्ञ, प्रकाण्ड अर्थशास्त्रीको रुपमा विश्वविख्यात भए । यति धेरै समय गुज्रिसक्दा पनि चाणक्यले बनाएका र सुनाएका सिद्धान्त र नीति सान्दर्भिक छन् ।
उनले उल्लेख गरेका थुप्रै नीतिहरु मध्ये सफल व्यक्ति हुनका लागि चाहिने गुणका विषयमा हामी चर्चा गर्दैछौँः
हरेक व्यक्ति सफल हुन चाहन्छ । सफलता प्राप्त गर्न सजिलो छैन र सबै व्यक्ति सफल पनि हुँदैनन् । व्यक्ति सफल हुनका लागि केही विशेष गुण हुनु जरुरी हुन्छ । ती मध्ये चाणक्यले देखाएका ५ नीति लागु गर्दा व्यक्ति सफल हुन सक्छ ।
१. खुलापन
व्यक्तिले सधैं आफ्नो कान, आँखा र दिमाग सधैं खुला राख्नु हो । जो व्यक्ति आफ्नो आसपास भइरहेका घटनाप्रति सचेत रहन्छ, त्यो व्यक्ति कहिल्यै असफल हुँदैन । ऊ कुनै पनि विषयमा संकुचित धारणाबाट मुक्त हुनुपर्छ । खुल्ला आकाशजस्तै व्यक्तिको मन मस्तिष्क पनि खुल्ला हुन जरुरी छ । हरेक कुरामा दुई पक्ष हुन्छन् । ती दुबै पक्ष विश्लेषण गर्न व्यक्ति खुला हुनुपर्छ ।
२. ज्ञान
चाणक्य भन्छन्, ज्ञानको अर्थ कुनै पनि विषयमा राखिने जानकारी हो । जीवन र जगतका विषयमा व्यक्तिले जानकारी राख्नुपर्छ । सो जानकारी किताब पढेर मात्रै प्राप्त हुँदैन । राम्रो–नराम्रो कुरालाई पहिचान गर्न सक्ने, जीवनप्रति सकरात्मक सोँच राख्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैन । एउटा विषयमा विज्ञ भएपनि अरु थुप्रै कुराहरुबारे ज्ञान भएन भने मानिसको जीवन सफल नहुन सक्छ ।
३. मेहनती
‘हामीले सुन्ने गरेका छौँ, मेहनत गर्ने सबै मानिस सफल हुन्छन् नै भन्ने हुँदैन । तर यो पनि वास्तविकता हो कि, मेहनत नगरी प्राप्त गरेको कुनै पनि उपलब्धी दिगो हुँदैन । आचार्य चाणक्य भन्छन्, सफलता प्राप्तिका लागि मेहनतको विकल्प हुँदैन । र, मेहनत गर्ने व्यक्ति पक्कै सफल हुन्छन् । कुनै काममा असफल हुने वित्तिकै सो काम छोड्न हुँदैन । निरन्तरता दिने व्यक्ति एकदिन अवश्य सफल हुन्छ ।
४. आत्मविश्वास
दोस्रो व्यक्ति तबमात्रै तपाईमाथि विश्वास गर्छ, जब तपाईले आफैंमाथि विश्वास गर्नुहुन्छ । जो व्यक्ति आत्मविश्वासका साथ जिउँछन्, उनीहरुले जस्तोसुकै नराम्रो समयको पनि सामना गर्न सक्छन् । यस्ता व्यक्ति असफल भएपनि सफल हुने हिम्मत राख्छन्, र हुन्छन् पनि । म गर्न सक्छु भन्ने भाव भयो भने व्यक्ति सफल हुन सक्छ । तर म सक्दिन होला भन्ने व्यक्तिले सक्ने काम पनि गर्न सक्दैन । उसलाई हिनताबोधले थिचिरहन्छ र उसको जीवन लघुताभाषमा लत्रिरहन्छ ।
५. धन सञ्चित
मानिसहरुको बानी हुन्छ, बैँक खातामा भएको धनपैसा रित्तिने गरी खर्च गर्ने । गोजीमा भएको पैसा नसकिएसम्म खर्च गरिरहने । तर धनको विषयमा चाणक्य भन्छन्, व्यक्तिले कहिल्यै पनि सबै धन खर्च गर्नु हुँदैन । जस्तोसुकै व्यक्तिको पनि नराम्रो समय आउन सक्छ । यसकारण नराम्रो समयको सामना गर्न सबै व्यक्तिले धन सञ्चित गरेर राख्नुपर्ने आचार्य चाणक्यको भनाइ छ । धन सञ्चित गरेर राख्ने व्यक्तिले कहिल्यै अरुको सामु हात फैलाउनु पर्दैन् ।