वडा अध्यक्ष ठकुल्ला, जो अरुका लागि प्रेरणा हुन्..

साझा कथा । तस्बिरको अग्रभागमा देखिएका व्यक्ति हुन् कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्ला । उनी जनप्रतिनिधिको रुपमा आउनुअघि पनि कृषि पेशामा आवद्ध थिए । जनप्रतिनिधि भइसकेपछि उनी गाडीमा हिड्ने, शान र रवाफमा रमाउने काममा लागेनन् । बरु आफूले अंगाल्दै आएको कृषिलाई अझ बढी व्यवसायिक बनाउनतिर लागे । उनले अहिले पनि १० बिघा क्षेत्रफलमा गहुँ खेती गरिरहेका छन् । सात बिघा क्षेत्रफलमा उखु खेती, माछा पालन, गुड मिल, तरकारी खेती गर्दै आएका ठकुल्लाले यसवर्ष आलु खेतीबाट पनि राम्रो आम्दानी भएको बताए । जनप्रतिनिधिको रुपमा कार्यालयमा नियमित त भेटिन्छन् नै, बाँकी रहेको समय ठकुल्ला खेतबारीमा भेटिन्छन् ।

“हामीले कृषिलाई नै प्राथमिकता दिनुपर्छ । हिजोका दिनमा परम्परागत कृषि गर्थ्यौं । आज आधुनिक कृषि गर्दै आएका छौं,” वडा अध्यक्ष ठकुल्लाले भने, “सामाजिक क्षेत्रमा काम गर्ने मान्छे उत्पादनसँग पनि जोडिनुपर्छ । उत्पादनसँग नजोडिइकन राजनीति गर्दा त्यसले मुलुकलाई फाइदा गर्दैन ।”

वास्तवमै राजनीति गर्नेहरुले कमाउन सक्दैनन् । तर राजनीतिलाई पेशा बनाउने र कमाइ खाने भाँडो बनाउने त सामान्य भइसक्यो नेपालमा । तर कमाएको पैसा खर्च गर्न राजनीति गर्नुपरेको जस्तो अवस्था छ ठकुल्लाको । आफ्नो कृषि फर्मबाट आएको फाइदा उनले राजनीति र समाजसेवा गर्नमा खर्च गरिरहेका छन् । कृषिबाटै समृद्धिको सपना देखेका ठकुल्लाले आफु मात्रै नभई गाउँका युवाहरूलाई समेत कृषिमा प्रेरित गर्दै आएका छन् । स्थानीयलाई कृषिमा जोडिराख्न उनले कृषि सहकारी संस्था स्थापना गरे ।

“गाउँका स्थानीयलाई सहभागी गराएर स्थापना गरेको कृषि सहकारी आज कृषकहरूका लागि निकै लाभदायक बनेको छ । सहकारीको करोडौंको सम्पत्ति जोडिएको छ,” वडा अध्यक्ष ठकुल्ला भन्छन्, “हामीले आदर्शका कुरा गर्छौं तर हाम्रो स्तर कहाँ छ त्यसको खोजी गर्दैनौं । राजनीतिमा युवाहरूलाई जोड्नु पहिले व्यवसायमा जोड्न सके मात्रै समृद्धि भेट्न सहज हुन्छ ।”

वडाको दुर्गम क्षेत्र जसलाई स्थानीयहरु श्रीलंका टापु पनि भन्छन्, त्यो बर्षौदेखी खण्डहर बन्दै गइरहेको थियो । त्यस क्षेत्रलाई कृषि हब बनाउने योजना तिर लागिपरेका छन् ठकुल्ला । कर्णाली नदी पारी रहेको श्रीलंका बर्दिया जिल्लासँग नजिक भएपनि टीकापुरबाट टाढा छ । त्यहाँका किसानहरू जंगली जनावरका कारण आजित छन् । नजिकै जंगल भएपछि लगाएको अन्न बाली जंगली जनावरले नष्ट गर्ने भएपछि पटकपटक फरक खेती गर्दै आएका किसानले यसपटक आलु खेतीलाई प्राथमिकतामा राखे । त्यहाँ यसवर्ष २३ बिघा क्षेत्रफलमा आलु खेती गरियो । अन्य अन्न बाली जंगली जनावरले नष्ट गर्ने भएपनि आलु खेतीलाई भने नष्ट गर्न गाह्रो भएकोले त्यसतर्फ स्थानीयहरु आकर्षित भएका छन् । आलु खेतीबाट राम्रो उत्पादन भएपछि किसानहरू खुशी पनि भएका छन् । स्थानीयलाई यति सानो कुरा सिकाउने उनै वडा अध्यक्ष ठकुल्ला हुन् ।

उनी आफ्नो ठाउँको विकासका लागि हरसम्भव प्रयास गरिरहेका छन् । नेता भएर पनि जनतासँगै रमाउने र कृषि पेशामा अरुलाई पनि अभिप्रेरणा दिन आफैँ खेतमा होमिने गर्दा उनको चर्चा नगरपालिकाभर फैलिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?