उफ् महंगी ! ‘कमाईले धान्न छोड्यो, कसरी बाँच्ने हो ?’

साझा कथा । देशको अर्थतन्त्र डामाडोल अवस्थामा छ । सबै आर्थिक परिसूचकहरुले मुलुकको अर्थतन्त्र गिर्दो अवस्थामा रहेको देखाएका छन् । त्यसमाथी महंगी बढेर आम नागरिकको ढाड सेकिएको छ । दैनिक उपभोग्य वस्तुको भाउ आकाशिएको छ । पछिल्लो एक वर्षको अवधिमा हरेक वस्तुको भाउ बढेको बजार तथ्यांकहरुले देखाएको छ ।

दैनिक एक हजार रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भइरहेको अनुभव धेरैको छ । निर्माण क्षेत्रमा मजदुरको रुपमा काम गर्ने राजेश क्षेत्रीले भने ‘पोहोरको ज्याला अहिलेसम्म उस्तै छ तर एक वर्षको अवधिमा खानेकुराको भाउ बढेर कहाँ पुग्यो, कसरी बाँच्ने हो ? हामीलाई त बाँच्नै गाह्रो भइसक्यो ।’ बजारमा सबभन्दा सस्तो भनिएको चामलको भाउ नै प्रतिकेजी ७५ रुपियाँ पुगेको छ । खाद्यान्नका हरेक बस्तुहरुको भाउ आकाशिएको छ ।

निर्माण क्षेत्र, ज्याला मजदुरी र नीजि क्षेत्रमा काम गर्नेहश्रको मासिक आर्थिक योजना विथोलिएको छ । मासिक कमाई पोहोरको तुलनामा उस्तै छ, तर उपभोग्य बस्तुको भाउ आकाशिएपछि कमाईले पुगिरहेको छैन । सतुंगल बस्ने डिपी शर्माले सुनाए, ‘म आफू काम गर्ने संस्थाले पोहोर जति तलब दिन्थ्यो, अहिले पनि उति नै छ तर दैनिक उपभोग्य बस्तु किन्दा तलबले नधान्ने अवस्था आइसक्यो ।’

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक वर्षको अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशत महँगिएको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशतसँग महँगो भएको पाइएको जानकारी दिए ।

उनका अनुसार बिस्कुट, चकलेट ५० प्रतिशतसम्म महँगिएका छन् । मैदा र आँटा महँगो भएकाले बिस्कुट, पाउरोटीलगायत अधिकांश उत्पादन ४० देखि ५० प्रतिशतसम्म महँगो भएको अनुभव सङ्घका अध्यक्ष वज्राचार्यको छ ।

सङ्घका अनुसार गत वैशाखमा प्रतिकेजी ५० देखि ५५ रुपियाँ रहेको गहुँको आँटा बढेर ९५ रुपियाँ हुँदै अहिले ८५ रुपियाँमा कारोबार भएको छ । यस्तै सो अवधिमा मैदा प्रतिकेजी ६० रुपियाँबाट ११० रुपियाँसम्म पुगेकामा अहिले घटेर प्रतिकेजी ९० रुपियाँमा किनबेच भइरहेको छ ।

सङ्घका अध्यक्ष वज्राचार्यले गहुँको आँटा र मैदाको भाउ केही घटे पनि यसबाट तयार गरिने बिस्कुट र पाउरोटीका परिकार नघटेको बताए । चामल, दाल, गेडागुडी, चिउरालगायतका भाउ १० देखि १५ प्रतिशतसम्म महँगिएको खुद्रा व्यापारी बताउँछन् ।

कलङ्कीका खुद्रा व्यापारी विमल खत्रीले अधिकांश खाद्यवस्तुको भाउ महँगो भएकाले उपभोगमा ठूलो ह्रास आएको अनुभव सुनाए । डेढ दशकदेखि सोही चोकमा व्यापार गर्दै आएका विमलले भने, “हरेक महिना चार केजी दाल, चार केजी गेडागुडी किन्ने उपभोक्ताले आधा घटाएर दुई–दुई केजीमा सीमित हुुने गरेका छन् । राम्रो ब्रान्डको चामल किन्नेले सस्तो चामल किन्न थालेका छन् ।”

महँगी भएका विषयमा बढी खाद्यवस्तु मात्रै बाहिर आउँछन् तर एक वर्षको अवधिमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्रीलगायत सबै वस्तुको भाउ बढेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए । “भाउ बढ्नुको कारण खोज्यो भने कहीँकतैबाट उत्तर पाइँदैन, त्यसैले पनि आमउपभोक्ता कुन सस्तो छ भन्दै खोज्दै हिड्नुपर्ने अवस्था छ ,” उनले भने ।

तिमल्सिनाले सरकारसँग बजारमा कुन वस्तुको कति माग हो, कति खपत हुन्छ भन्ने कुनै तथ्याङ्क नभएका कारण बजार केही मुठीभर व्यापारीको नियन्त्रणमा भएकाले उपभोक्ता सधैँ मारमा पर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको सात महिनाको उपभोग्य वस्तुको मूल्य वृद्धि कायमै रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । बैङ्कको विवरणअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा उपभोक्ता मुद्रास्फीति ७ दशमलव ८८ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६ दशमलव २४ प्रतिशत थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?