साझा कथा । हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिएर बनाएका नेपाली चलचित्र अहिले हलहलमा राम्रो चल्ने गरेका छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन् । यीबाहेक दुई नम्बरी, के घर के डेरा र झिङ्गेदाउ पनि हास्य विधामै रहेका चलचित्र हुन् ।
यसलाई हेर्दा नेपाली चलचित्रमा अहिले हास्यविधालाई नै बढी दर्शकले रुचाएका छन् भन्न सकिन्छ । निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन् । ‘कबड्डी ४’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनाएको छ । यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन् । किनकि कुनै समय सामान्य र छोटो भूमिकामा प्रस्तुत हुने हास्य कलाकारले अहिले मुख्य भूमिका पाएका छन् ।
टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायतका कलाकार अहिले चलचित्रमा सफल भएका छन् । उनिहरूले काम गरेका चलचित्रले मुनाफा दिनुका साथै व्यापारमा रेकर्डसमेत बनाउन सफल भएका छन् ।