मिटरव्याज विरुद्ध संसदमा सांसदहरुको एकै स्वर

साझा कथा । प्रतिनिधिसभाको आजको बैठकमा उपस्थित अधिकांश सांसदहरुले मिटरव्याजबाट पीडित भएका नागरिकहरुको समस्या समाधान गर्नका लागि एकै स्वरमा आवाज उठाएका छन् । उनीहरुले मिटरव्याजबाट पीडितहरुको माग सम्बोधन गर्न तत्काल ठोस निर्णय गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

बैठकको सुरुमा नै सभामुखसँग समय मागेर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एकजना मिटरव्याज पीडित सिरहादेखि १३ दिनसम्म बच्चा बोकी पैदलै हिँडेर काठमाडौँको आन्दोलनमा आएको बताउँदै उनीहरुको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरे । उनले पीडितहरुको न्यायका लागि स्थानीय सरकार र केन्द्रीय नेतृत्वबाट पहल हुन नसकेको गुनासोसमेत गरे ।

राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटरव्याज पीडितहरुको माग चाँडोभन्दा चाँडो पूरा गरी पीडितहरुलाई न्याय दिन आग्रह गरे । उनले उनीहरुको समस्या बुझ्न जाँदा आफ्नो पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीमाथि दुव्र्यवहार गर्न खोजिएको भन्दै आपत्ति समेत जनाए ।

जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झाले पनि मिटरव्याज पीडितहरु पैदल हिँडेर अहिले राजधानी आई आफ्नो पीडा पोखिरहेको उल्लेख गर्दै उनीहरुको माग सम्बोधनका लागि सदनबाटै एउटा समिति बनाएर काम थाल्नुपर्ने राय प्रस्तुत गरिन् । उनले भनिन्, “उहाँहरुको प्रतिनिधि हामी सांसद हौं, उहाँहरु हामीसँग पीडा पोखिरहनु भएको छ । पीडितको माग पूरा गर्ने सम्बन्धमा संसद्सहितको समिति बनाउन माग गर्दछु ।”

यस्तै, आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मिटरव्याज पीडितहरुको आन्दोलन चर्किरहेकाले उनीहरुको समस्या तत्काल समाधान गर्न सभामुखमार्फत सरकारलाई रुलिङको माग गरे । उनले भने, “काठमाडौँ आएका मात्र होइन देशभित्र लाखौँ मान्छे मिटरव्याजबाट पीडित छन् । बर्सेनि कुरा उठ्ने तर समाधान नखोजिको यो समस्यामा यही संसद्बाट ठोस निर्देशनका लागि माग गर्दछु । ” उनले बैंकले ऋण उपलब्ध नगराउँदा नागरिक चर्को ब्याजदरमा मिटरव्याजबाट ऋण लिन बाध्य भएको बताउँदै कर्जा प्रवाहका विषयमा लघुवित्त र बैंकहरुमा विद्यमान बेथितिको निराकरणका लागि ठोष कानुनको आवश्यकता रहेको बताए ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरव्याज पीडितको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै भने, “न्यायको माग गर्दै पीडितहरु काठमाडौँसम्म आउन बाध्य हुनुहुन्छ । देशभरका अन्य पीडितहरु काठमाडौँ आउँदैहुनुहुन्छ भन्ने सुनेको छ । न्याय पाउन काठमाडौँ नै धाउनुपर्ने सम्झौता हुने कार्यान्वयन नहुने अवस्थाको अन्त्य हुनुपर्छ । यो न्यायपूर्ण समाजमा स्वीकार्य हुन सक्दैन ।”
सांसद पौडेलले मिटरव्याजलाई गम्भीर अपराधका रुपमा हेर्न माग गरे । उनले कानुनको मस्यौदा मन्त्रालयमा नै थन्किँदा किसानको घरजग्गा लिलामी भएको बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?