साझा कथा । ओशो तपोवनले आगामी वैशाख १ गते काठमाडौँको टुँडिखेलमा ओशो महोत्सव आयोजना गर्ने भएको छ। नयाँ वर्षको उत्साह र सकारात्मक सन्देश दिनका लागि महोत्सव हुन लागेको ओशो तपोवनले जनाएको छ ।
महोत्सव बिहान ९ देखि रात्रि ९ बजेसम्म चल्नेछ । महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिलाई सुहाउने विविध प्रकारका प्रस्तुति राखिएको ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीले जानकारी दिए । आफ्नो व्यस्त जीवनशैलीमा ध्यान, योग र सत्सङलाई अपनाउँदै खुसी जीवन जीउन सकिने कला महोत्सवबाट सिक्न सकिने उनको भनाइ छ । ध्यान, साधना, सङ्गीत, नृत्य, हास्य, स्वाद साहित्य र अध्ययनको महोत्सव हुने प्रवक्ता भण्डारीले बताए ।
महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्युजिक, हास्य ध्यान, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायतको प्रस्तुति रहने छ भने महोत्सवको मुख्य कार्यक्रम साँझ ५ बजे हुनेछ। साँझको कार्यक्रममा एकै साथ ५० हजारले ध्यान र उत्सव गर्ने तपोवनले जनाएको छ । ओशो तपोवनले गत वैशाख १ गते पनि टुँडिखेलमा ओशो ‘सेलेब्रेसन’ गरेको थियो । सो कार्यक्रममा १५ हजार बढीले एकसाथ ध्यान गरेका थिए।
महोत्सवका क्रममा ‘फुड फेस्टिभल’ पनि आयोजना हुनेछ । फुड फेस्टिभलको संयोजन अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त नेपाली सेफ सन्तोष साहले गर्ने बताइएको छ । महोत्सवमा उच्च सरकारी पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका नेता, विशिष्ट व्यक्ति, कलाकार, सञ्चारकर्मी, स्वदेशी तथा विदेशी ओशोप्रेमी सहभागी हुनेछन् । महोत्सवमा प्रवेश गर्न कुनै शुल्क लाग्ने छैन ।