साझा कथा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको छ । परीक्षा विहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुँदै छ ।एसइई परीक्षाका सहभागि हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेका छन् ।
परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् ।
यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसइईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ । परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ । यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरुको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरिएको छ ।
एसइई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जनक शिक्षा सामग्री केन्द्रमा छपाई सकेर जिल्ला जिल्लामा पु¥याइसकिएको छ । यसवर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्नपत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो । विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको जनक शिक्षाले जनाएको छ ।
जापानमा पनि परीक्षा केन्द्र
बोर्डले यसवर्ष जापानमा पनि एसइई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसइई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो ।
त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने भएको छ ।