कुन दलको भागमा कुन मन्त्रालय ? नयाँ मन्त्रीको सपथ शुक्रबार ३ बजे

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकार आज (शुक्रबार) विस्तार हुँदैछ । ११ दलीय गठबन्धनबाट हाललाई ९ वटा दल सरकारमा सहभागी हुँदैछन् । माओवादीले यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने तयारी गरेको छ । नेपाली काँग्रेसभित्रको विवादका कारण तत्काल ४ जना मन्त्री हुँदैछन् । शेखर कोइराला समूहलाई कति मन्त्री दिने भन्नेमा विवाद बढेपछि ४ जनाको नाम सिफारिस भएको छैन । जनता समाजवादीमा पनि विवाद भएपछि अशोक राईको मात्रै नाम पठाइएको छ । यस्तै लोकतान्त्रिक समाजवादीबाट शरदसिंह भण्डारी मन्त्री हुँदैछन् । उनी १६ औँ पटक मन्त्री बन्दैछन् ।

नवनियुक्त मन्त्रीहरूले आजै ३ बजे राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ । सञ्चारकर्मीहरूलाई २ः३० बजे नै राष्ट्रपति भवनमा आउन निमन्त्रणा पनि गरिएको छ ।

नेपाली काँग्रेसले उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बनाएको छ भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् । एकीकृत समाजवादीको तर्फबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री हुँदैछन् । भुसालले कृषि मन्त्रालय र ज्वालाले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्दैछन् । जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् । माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् ।

सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी छ ।

रास्वपा बैशाख १० को उपनिर्वाचनपछि सरकारमा सहभागी हुने बताइएको छ ।

पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएपछि नेपाली कांग्रेस लगायतका दललाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा लागेका हुन् । तर पार्टीभित्रका आन्तरिक विवादका कारण आज पनि मन्त्रीपरिषद् पूर्ण नहुने भएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?