चिनेजानेकै मान्छेबाट बढी ठगिन्छन् विदेश जाने युवा, ५५ करोड बढी ठगी

साझा कथा । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा ठगिने गरेका छन्, यो क्रम बढ्दो छ । उनीहरुलाई ठग्ने व्यक्तिहरु भने चिनेजानेकै वा गाउँघरकै दलाल हुने गरेका छन् । सदरमुकाम र सहरका वैदेशिक रोजगार कम्पनी अनि विदेश पढ्न पठाउन भन्दै खोलिएको एजुकेसन कन्सल्टेन्सीबाट पनि युवाहरु ठगीमा पर्ने गरेका छन् । त्यस्ता ठगिने युवाहरु कति छन् भन्ने आधिकारिक तथ्याङ्क कसैसँग छैन ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको आठ महिनाको तुलनामा चालु आर्थिक वर्ष वैदेशिक रोजगारीका नाममा हुने ठगी दोब्बरले बढेको छ । वैदेशिक रोजगार विभागमा आर्थिक बर्ष २०७९–८० को फागुन महिनासम्म ५५ करोड ९५ लाख रुपियाँ बराबर व्यक्तिगत ठगी भएको उजुरी परेको छ । जब कि गत आर्थिक वर्षको सो अवधिमा २३ करोड २२ लाख रुपियाँ थियो ।

पछिल्लो समय नेपालबाट दैनिक औसतमा दुई हजार दुई सय युवा रोजगारीको खोजीमा विदेश जाने गरेका छन् । वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या वृद्धिसँगै ठगीका घटना पनि बढेको उजुरीमा परेको रकमले देखाएको छ ।

विभागका निर्देशक कृष्ण भुसालका अनुसार पछिल्लो वर्ष वैदेशिक रोजगारीमा जाने बढेसँगै ठगीमा पर्नेको सङ्ख्या पनि बढेको छ । विभागका अनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगीमध्ये वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको तुलनामा व्यक्तिगत र शैक्षिक कन्सल्टेन्सीबाट हुने ठगी बढी छ ।

सरकारले वैदेशिक रोजगारीका लागि निःशुल्क भिसा र टिकट व्यवस्था लागू गरेको छ । यसअनुसार विदेश जाने युवासँग अधिकतम १० हजार रुपियाँ मात्र सेवा शुल्क लिन पाउने व्यवस्था छ । तर वैदेशिक रोजगार व्यवसायी कम्पनीले विदेश जाने व्यक्तिहरुसँग १ देखि १ लाख ५० हजारसम्म उठाउने गरेका छन् ।

वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न पाइँदैन तर म्यानपावर व्यवसायीले जिल्लाजिल्लामा एजेन्ट राखेर ठगी गर्ने काम गर्दै आएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?